२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गाउँमा स्वास्थ्य शिविर भएपछि स्थानीय दंग, छालाका बिरामी बढी

गाउँमा स्वास्थ्य शिविर भएपछि स्थानीय दंग, छालाका बिरामी बढी


विराटनगर—मोरङको कानेपोखरी गाउँपालिका–६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा छालाको समस्या भएका बिरामी बढी पाइएका छन् । शिविरमा ७० जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा बढीमा छाला सम्बन्धी समस्या पाइएको हो ।

‘स्वास्थ्य परीक्षण गरेकामध्ये धेरै बालवालिकाहरूमा छालाको समस्या देखियो,’ वरिष्ठ बालरोग विशेषज्ञ डा. राजेश यादवले भने, ‘छालापछि मौसमी रूघाखोकीको समस्या भएका बिरामी देखा परेका छन् ।’ अहिले झरी परेकोले पनि बालवालिकाहरूको छालामा समस्या देखा परेको उनको भनाइ छ ।

‘सकेसम्म शरीरलाई सुक्खा राख्ने गर्नुपर्छ । झरी परेको बेलामा भिजिने सम्भावना बढी हुन्छ । त्यसैले भिजेको वा चिसो भएको लुगा लगाएर लामो समय बस्नु हुँदैन । पसिना आइरहने ठाउँमा पाउडरको प्रयोग गर्नु उत्तम हुन्छ,’ उनले भने ।

औषधी व्यवसायीले जुराइदिएको शिविर

नेपाल औषधी व्यवसायी संघको ४८ औं स्थापना दिवसको अवसर पारेर गाउँमा निःशुल्क स्वास्थ्य शिविर राखिएको हो । स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्दै आएको औषधी व्यवसायी संघ मोरङले समापनमा स्वास्थ्य शिविर गरेर मनाउने उद्देश्यअनुरूप कानेपोखरी–६ मुलगाउँ रोजेको हो । स्थानीयस्तरमा विशेषज्ञ चिकित्सकको उपस्थितमा स्वास्थ्य जाँच र औषधी पाएपछि बिरामी र आफन्त दंग देखिन्थे ।

स्वास्थ्य परीक्षण गरेपछि आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघको स्थापना दिवसमा यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ ।

स्थापना दिवसको समापनको दिन स्वास्थ्य शिविरसँगै सरस्वती आधारभूत विद्यालयलाई स्वास्थ्य र स्टेशनरी सामाग्री पनि वितरण गरिएको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनासहितका पदाधिकारीहरूले स्कुलका प्रधानाध्यापक चन्द्र मगर र व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई स्वास्थ्य तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्वअन्तर्गतसंघको स्थापना दिवस विभिन्न सामाजिक कार्यहरू गरी मनाइएको अध्यक्ष तिम्सिनाले बताए ।

कार्यक्रममको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका–६ का वडाअध्यक्ष खड्ग बस्नेतले स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका ग्रामीण बस्तीका बिरामीहरूलाई स्थानीयस्तरमा यस्ता उपचारले लाभ प्राप्त हुने बताए । आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रम नेपाल औषधी व्यवसायी संघ प्रदेश १ का सदस्य नेत्र निरौला, विद्यालयका प्रअ चन्द्र मगर, व्यवस्थापनसमितका अध्यक्ष खगेन्द्र बराईलीलगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ