२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पीडक पक्षले उपचार खर्च व्यहोर्न नमान्दा घाइते बिरामीको बिचल्ली

पीडक पक्षले उपचार खर्च व्यहोर्न नमान्दा घाइते बिरामीको बिचल्ली


विराटनगर – दुई महिनाअघि भएको सवारी दुर्घटनामा परि घाइते भएका एक जना पीडितको थप उपचार खर्च पिडक पक्षले व्यहोर्न नमान्दा बिचल्लीमा परेका छन् ।

सुनसरीको खनारमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ३० वर्षीय कमल भुजेलको पीडकले पक्षले थप उपचार गर्न नमान्दा अहिले बिचल्लीमा परेका हुन् ।

थप उपचार गर्नुको साटो अहिले पीडक पक्षले मिल्न दबाव दिने गरेको पीडितको भनाई छ । गएको २४ वैशाखमा दक्षिणबाट उत्तरतर्फ गइरहेको दुहबीका आशिष कुमार माझीले चलाएको मोटरसाइकलले उनलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परि गम्भीर घाइते भएका भुजेलको टाउकोमा गहिरो चोट लागेको थियो ।

उनको विराटनगर–२ स्थित विराट नर्सिङ होममा पहिलो चरणको न्युरो सर्जरी शल्यक्रिया सफल भएको थियो । दोश्रो चरणको शल्यक्रिया लागि अस्पतालले अबको १५ दिनको मिति तोकेको छ । उक्त शल्यक्रियामा पहिले अप्रेशन गरेर निकालेको खप्परको हड्डी लगाउनुपर्ने छ ।

 दोस्रो अप्रेशनमा थप ३ लाख ८० हजार रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ । तर, उपचार खर्च बापत हालसम्म १० लाख रुपैयाँ तिरिसकेको पिडक पक्षले थप पैसा तिर्न नमानेको घाइते भुजेलकी श्रीमती पल्मा तामाङ बताइन् । उनले आधा उपचार गराएर थप पीडा सहन बाध्य बनाइएकोे गुनासो गरिन् । ‘पहिलो चरणको उपचार पुरा भएपछि चकित्सकले दोस्रो चरणको शल्यक्रिया गरेपछि मात्र बिरामी ठिक हुनुहुन्छ भन्नुभएको छ । अबको दुई साता पछि अस्पतालमा बोलाएको छ । तर, दुर्घटना गराउने व्यक्तिले थप उपचार नगर्ने भन्दै पन्छिन थालेका छन्,’ घाइतेकी श्रीमती पल्माले भनिन् ।

स्थायी ठेगाना भारतको बेस्ट बङ्गालस्थित कालचिनी भइ अस्थायी रुपमा खनार बस्दै आएका भुजेल रोजगारीको सिलसिलामा ३ वर्षअघि नेपाल आएका थिए । विराटनगरको रोडशेषस्थित नमस्कार होटलबाट रोजगारी सुरु गरेका उनी करिब अढाई वर्ष रानीको मिल्सएरिया बसे । तर, निषेधाज्ञाका कारण होटलको रोजगारी गुमेपछि उनले सुनसरीको इटहरी–१२ खनार चोकस्थित खाम्दाके होटलमा कुकको जागिर खान थाले ।  जागिर खाएको २ महिना नबित्दै गएको बैशाख २४ मा बेलुका घर फर्किने क्रममा उनी दुर्घटनामा परेका हुन ।

घटनास्थलमै मुुर्छित परेका उनलाई स्थानीयको सहयोगमा अस्पताल पु¥याइएको थियो । पहिलो शल्यक्रिया गराएर यही साउन ५ गते डिस्चार्ज भएका उनको हाल दाहिनेपट्टीको कन्चटको हड्डी लगाउन बाँकी छ । तर, पिडक पक्षले उपचार पुर्ण हुन नपाउँदै हात उठाएपछि हाल पिडित पक्ष थप समस्यामा परेका छन् ।

मोटरसाइकल चालक आशिषलाई अहिले प्रहरी हिरासतमा भएपनि उनको परिवारले उपचार खर्च दिन आलटाल गरिरहेको घाईते भुजेलकी श्रीमती तामाङको भनाई छ । ‘पिडक पक्षको आलटालका कारण उपचार पूर्ण हुन सकेको छैन,’ उनले भनिन्, ‘उपचार पूर्ण गराउनुको सट्टा पिडकको आफन्तले उल्टै १ लाखमा मिल्न दबाब दिइरहेका छन् ।’

पहिलो अप्रेशन गराएर डिस्चार्ज भएका भुजेल र उनको श्रीमती हाल नर्सिङ होम अगाडिकै भोजपुरे होटलमा बस्दै आएका छन् । आर्थिक रुपमा विपन्न रहेका उनीहरुसँग सम्पत्तिको नाममा थोत्रे मोबाइल र सुत्ने ओछ्यान मात्र छ । मिल्सएरियामा रहेका भुजेलको दिदी भिनाजुले पनि साथ नदिएपछि उनीहरुको अवस्था दयनीय बनेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ