२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अस्पताल आएका सेवाग्राही भन्छन्, ‘स्वास्थ्य बिमाले धुरूक्कै रूवायो’

अस्पताल आएका सेवाग्राही भन्छन्, ‘स्वास्थ्य बिमाले धुरूक्कै रूवायो’


विराटनगर-मोरङको बुढीगंगा गाउँपालिका–४ नेमुवाकी २७ वर्षीया नीता भट्टराईलाई अत्याधिक पेट दुःखेपछि विराटनगर कोशी अस्पतालमा उपचारको लागि धाइरहेकी छिन् । उनले गत वर्ष स्वास्थ्य बिमा गराएकी थिइन्। बिमा कार्ड बोकेर उनी अस्पताल धाएको तीन भैसकेको छ ।

३ दिनसम्म अस्पताल धाउँदा पनि विशेषज्ञ चिकित्सकलाई देखाउन पाएकी छैनन् । ‘अस्पतालमा अधिक भिड हुने हुँदा पहिलो दिन शुक्रबार लाइनमा बसेर चिकित्सकलाई देखाउन पूर्जी काटेर दिनभरी लाइन बस्दा पनि पालो आएन । भोलिपल्ट आइतबार १० बजे अस्पतालको लाइनमा बसे । १२ बजेतिर पालो आयो । डाक्टरले स्वास्थ्य जाँच गरेपछि भिडियो एक्स-रे गर्नु भन्नुभयो,’ उनले सुनाइन्, ‘भिडले गर्दा आइतबार साँझ मात्र पालो आयो । त्यसदिन रिपोर्ट चिकित्सकलाई देखाउन पाइएन् ।’

बिमा काउन्टरमा पूर्जी काट्न लाइनमा बस्ने सेवाग्राहीको भिड

सोमबार विहान १० बजेपछि पुनः अस्पताल आएर उनी पालो कुरिरहेकी थिइन् । दिउँसो १ बज्न लाग्दा पनि पालो आएको थिएन । ‘बिरामी मान्छेलाई बिमाले झन बिरामी बनाइसक्यो, पालो आउँदैन् । जहिले उपचार गर्न आयो यस्तै भिड हुन्छ । बिमाले धुरूक्कै रूवायो। झनझटिलो प्रक्रियाले गर्दा धेरै सास्ती पायौं,’ उनले लामो सुस्केरा मार्दै भनिन् ।

कोशीको ओपीडीभित्र भेटिएका ७५ वर्षीय नारायणप्रसाद सुवेदीको गुनासो पनि ठ्याक्कै नीतासँग मिल्दोजुल्दो छ । स्वास्थ्य बिमाको सेवाले झन्झटिलो भएको उनले बताए । सोमबार उपचार गराउन अस्पताल आएका सुवेदीलाई ज्वरो, रूघा र छाती दुःखेर अस्पताल आएका थिए । अस्पतालमा धेरै भिड भएको र ज्येष्ठ नागरिकहरुको छुट्टै लाइन नभएकाले तीन चार घण्टा बस्दा पनि पालो नआएको उनले गुनासो गरे । ‘वृद्ध मान्छे। लाइनमा बसेको ३/४ घण्टा भइसक्यो पालो आउँदैन । अस्पतालभित्र भद्रगोल छ । कोभिड दिनप्रति दिन बढदै गएको छ,’ उनले भने, ‘बिरामी मान्छे यस्तो भिडभाडले झन संक्रमण फैलाउने खतरा बढेको देख्छु ।’

बिरामी भएर आएकी अर्की ज्येष्ठ नागरिक देवकुमारी पन्थको पनि उस्तै गुनासो छ । ‘यसअघि एकै दिनमा स्वास्थ्य बिमाको कार्डले स्वास्थ्य जाँच गर्न पाइन्थो । अहिले २/३ दिनपछि मात्र पालो आउँछ । भिडभाडले गर्दा त्यो पनि राम्रोसँग डाक्टरसँग परामर्श लिन पाइदैन,’ उनले भनिन् । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएपनि सेवा प्रकिया भने झन्झटिलो भएको सेवाग्राहीको गुनासो छ ।

प्रदेश १ का स्वास्थ्य बिमा सञ्चालन भएका अधिकांश अस्पतालमा उपचार गराउन आएकाहरुले सेवा प्रक्रिया झन्झटिलो हुँदा हप्तौसम्म अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । स्वास्थ्य बिमा कार्डबाट उपचार गराउन आएकाहरूले धेरै झन्झट खेप्नु परेको गुनासो गरेका छन् । सामान्य रोगको औषधी पाए पनि कडा रोगको औषधी भने स्वास्थ्य बिमा कार्डबाट नपाउने उनीहरुले बताए ।

औषधी पसलमा लामबद्ध भएका सेवाग्राही ।

गाइनो सम्बन्धी समस्या भएर कोशी अस्पताल पुगेकी स्वास्थ्य बिमित इन्दु देवकोटाले उपचारको लागि धाएको एक साता हुँदा पनि  भिडियो एक्स-रे गर्न नपाएको गुनासो पोखिन्  । ‘पाठेघरको ओभरीको भिडियो एक्स-रे गर्न अस्पतालले भन्यो । तर, अस्पतालमा त्यो एक्स-रे हुन नसकेपछि मलाई बाहिर भिडियो एक्स-रे गर्न भनियो । बाहिर निजी स्वास्थ्य क्लिनिकमा उपचार गर्न आर्थिक अभाव थियो । आफूलाई अन्य अस्पतालमा रेफर गर्न अस्पताल प्रशासन र डाक्टरलाई अनुरोध गरे,’ उनले भनिन्, ‘चिकित्सकले अस्पताल प्रशासनसँग रेफर गर्न भन्यो । अस्पताल प्रशासनले डाक्टरसँग रिफर लेखाएर ल्याउनु भन्दाभन्दै एकहप्ता बित्यो । तर, भिडियो एक्स-रे गर्न पाइन् ।’

प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएपनि सेवा प्रक्रिया झन्झटिलो भएको छ । कर्मचारीको अभाव र कागजपत्र मिलाउन समय लाग्ने भएकाले स्वास्थ्य बिमाबाट उपचार गराउन सेवाग्राहीलाई झन्झटिलो भएको हो । स्वास्थ्य बिमा गरेमा ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अप्रेशनलगायतका उपचार गर्न सकिने छ । तर, सरकारी सहयोग नपाउँदा स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थापनमा समस्या भएको अस्पतालको भनाइ छ ।

‘छिटो सेवा दिन थप काउन्टर बिस्तार हुनेछ’

कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बिरामीको संख्या बढेको कारणले भिड भएको बताए । ‘अहिले दैनिक १ हजारदेखि १२ सय बिरामी आउने गरेका छन् । त्यही भएर भिडभाड भएको हो,’ उनले भने, ‘सेवाग्राहीको संख्या बढेको कारणले टिकट र पूर्जी लिने थप काउन्टर थप गर्ने तयारी गरिएको छ ।’

कोशी अस्पतालका मेसु डा. चुमनलाल दास ।

 

थप काउन्टर विस्तार गरेपछि सेवाग्राहीले छिटो र छिरतो सेवा पाउने अस्पतालको भनाइ छ । मेसु दासकाअनुसार अस्पताल आउने ज्येष्ठ नागरिकको लागि छुट्टै काउन्टरको पनि व्यवस्था गर्न लागिएको छ ।

नेपालमा ४२ लाख २२ हजार ६ सय ११ जना बिमा कार्यक्रममा समाहित छन् भने प्रदेश एकमा १३ लाख ७५ हजार ६ सय ८२ जनाले बिमा गराएका छन् । प्रदेश एकमा ९८ वटा अस्पतालबाट बिमितहरुले सेवा पाउँछन् । सरकारी ७२, निजी २१ र सामुदायिक पाँचवटा अस्पतालबाट उपचार सेवा पाएका छन् ।

अव्यवस्थित भिडले मानसिक समस्या, मेसु र विकास समितिले दिएन चासो

कोशी अस्पतालका चिकित्सकहरूले बिमा कार्यक्रमले अव्यवस्थित भिडभाड र थप जनशक्ति नहुँदा मानसिक समस्या भएको बताएका छन्। दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढदै जानु र अस्पतालमा  अव्यवस्थित रुपमा भिडभाड बढेर जाँदा मानसिक समस्या बढेको यहाँका चिकित्सकहरूले बताएका छन् ।

कोशीको ओपिडीभित्र स्वास्थ्य जाँचको लागि लागेको भिड ।

‘कोशी अस्पतालको भिड हेर्दा र कोभिड संक्रमितहरू पनि आउने हुँदा एकातर्फ अस्पतालले कोभिड उपचार पनि गरेको छ,’ अस्पतालका एक चिकित्सकले हेल्थ आवजसँग भने, ‘अर्कोतर्फ कोशी अस्पतालका मेसु र प्रशासनले जनताको स्वास्थ्य बारेमा कुनै चासो देखाएको छैन । अस्पतालमा जनस्वास्थ्यको कुनै मापदण्ड पनि पालना भएको छैन । नत स्वास्थकर्मीहरुको स्वास्थ्यप्रति ध्यान दिइएको छ ।’

कोशी अस्पताल अहिले विराटनगरमा संक्रमण फैलिने खतरा बढेको छ । मेसु, विकास समिती र प्रशासन केवल आर्थिक लाभको मात्र ख्याल गरेका स्वास्थ्यकर्मीहरूको आरोप छ ।

ती चिकित्सकले अगाडि थपे, ‘बिरामीको चाप । उही डाक्टरको सख्या पहिले भन्दा कम (ओपिडी तथा वार्ड ) भएकोले कोरोना अस्पताल प्रदेश र कोरोना कोशी दुवैतर्फ मेडिसिन डिपार्टमेन्टबाटै खटिने हुँदा ओपिडी बस्ने डाक्टरलाई बिरामी हेर्ने चाप बढी हुने र बिरामी तथा डाक्टरलाई मानसिक तनाव हुने गरेको पाइएको छ । यसको व्यवस्थापन गर्न मेसु र विकास समिति प्रशासनले कुनै ध्यान दिएको छैन । यस्तो बेला मानवीय कुरामा ध्यान दिनुपर्ने हो ।’


क्याटेगोरी : प्रदेश १
ट्याग : #बिमा पिडित, #विराटनगर कोशी अस्पताल, #स्वास्थ्य बीमा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ