२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अक्सिजन प्लान्टको सफल परीक्षण : कोशी अस्पतालमा दैनिक ११० सिलिण्डर उत्पादन हुने

अक्सिजन प्लान्टको सफल परीक्षण : कोशी अस्पतालमा दैनिक ११० सिलिण्डर उत्पादन हुने


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको सफल परीक्षण भएको छ । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको १ करोड ७ लाख रुपैयाँ सहयोगमा कोशी अस्पताल परिसरभित्र निर्माण भएको अक्सिजन प्लान्टको मंगलबार सफल परीक्षण भएको हो ।

अक्सिजन प्लान्टको परीक्षण गर्दै प्राविधिक र चिकित्सकको टोली

 

इन्जिनियर, चिकित्सक र प्राविधिकसहितको टिमले गरेको परीक्षण सफल भएपछि बुधबारदेखि अक्सिजन उत्पादन हुने भएको छ । अक्सिजन प्लान्ट जडानको ठेक्का पाएको काठमाडौँस्थित डाइनोक्यामले कोशीमा अक्सिजन प्लान्ट जडान गरेको हो । डाइनोक्यामका प्रतिनिधी तथा इन्जिनियर बिजन अर्यालले उपकरण जडान गरेपछि सफल परीक्षण भएकोले बुधबारदेखि उत्पादन सुरू हुने जानकारी गराए ।

‘कोशीमा जडान भएको अक्सिजन प्लान्ट पिएसएस सिस्टमको हो । मेसिन चलुनजेल अक्सिजन उत्पादन हुनेछ । प्लान्टदेखि उत्पादन भएको अक्सिजन सिधै अस्पतालको बेडसम्म पुग्ने सिस्टम बनाएको छ,’ इन्जियिनर आर्यालले भने, ‘जर्मनको केजर कम्प्रेक्सन कम्पनीको उपकरणहरू जडान गरिएको छ । प्रतिमिनेट ५ लिटर अक्सिजन उत्पादन गर्नेछन् ।’

 

उनका अनुसार दैनिक ९० देखि १ सय १० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । एउटा सिलिण्डर ४८ केजीको हुन्छ । अक्सिजन प्लान्टदेखि उत्पादन भएको अक्सिजन मेन लाइनमा जडान गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । अक्सिजन प्लान्टदेखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्षदेखि पूर्वपट्टि रहेको मेन लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको छ ।

त्यसपछि आकस्मिक, अर्थो, कोभिड वार्ड, आईसियू, मेडिकल र जेनरल वार्डमा अक्सिजन जाने सिस्टमको विकास गरिएको मेसु दासले जानकारी दिए । अक्सिजन प्लान्ट संचालनमा आएपछि कोशी अस्पताललाई धेरै राहत हुने उनले बताए ।

अक्सिजन प्लान्टबारे जानकारी दिदै अस्पतालका मेसु डा. चुमनलाल दास

 

कोशीमा अक्सिजन आवश्यक पर्ने बिरामीको चाप र मात्र हेरेर खपत हुने गर्दछ । ‘दोस्रो लहरमा फैलिएको कोभिड-१९ को बेलामा दैनिक ४ सय सिलिण्डर पनि खपत भएको थियो । अहिले पनि कोभिडका १८ देखि २० जना बिरामी छन् । अहिले दैनिक १ सय ५० देखि २ सय सिलेण्डर अक्सिजन आवश्यक पर्ने गरेको छ,’ मेसु दासले भने ।

कोशी अस्पताल निकट भविष्यमा ५ सय शैय्याको अस्पताल बन्दैछ । ‘अहिले उत्पादन भएको अक्सिजनले भरथेग गरेर पुग्नेछ,’ मेसु दासले भने, ‘अहिले कोशी भित्र उत्पादन भएको अक्सिजनले हामीलाई धेरै राहत मिलेको छ ।’ कोशीको प्लान्टदेखि अक्सिजन उत्पादन भएपछि सिलेण्डर बोकेर निजी उद्योगमा जानुपर्ने समस्या पनि अन्त्य हुने उनले बताए ।

अहिले अस्पतालले निजी उद्योगसँग सम्झौता गरि अक्सिजन खरिद गर्दै आएको छ । नेपाल मेडिकल एसोसिएसनको समन्वयनमा सूची फाउण्डेसनले पनि अर्को कोशीमा अक्सिजन प्लान्ट जडान गरिदिने जानकारी आएको उनले बताए । त्यसपछि अस्पतालमा अक्सिजनको सहज हुने मेसु दासको भनाई छ ।

मंसिरमा सम्झौता भइ वैशाख २५ गतेभित्र कोशी अस्पतालमा अक्सिजन जडान गर्ने समझदारी भएको थियो । समयमै उपकरण आउन नसक्दा सम्झौता अवधि सकिएर तीन महिना ढिलो गरि अक्सिजन प्लान्ट जडान भएको हो ।


क्याटेगोरी : प्रदेश १
ट्याग : #अक्सिजन प्लान्ट, #कोशी अस्पतालमा सिलिण्डर उत्पादन, #सफल परीक्षण


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ