२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेशका जिल्ला अस्पतालहरूमा कम्तिमा दुई जना विशेषज्ञ चिकित्सक पठाइने : मन्त्री राई

प्रदेशका जिल्ला अस्पतालहरूमा कम्तिमा दुई जना विशेषज्ञ चिकित्सक पठाइने : मन्त्री राई

हिमाली क्षेत्रमा जानेलाई ३ सय प्रतिशत भत्ता


विराटनगर-प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशका जिल्ला अस्पतालहरुलाई सुदृढ र सुविधायुक्त बनाउने प्रयास सरकारले गरिरहेको बताएकी छन् । प्रदेशसभाको बैठकमा आइतबार शुन्य समयमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले यस्तो बताएकी हुन् ।

उनले जिल्ला अस्पतालमा कम्तिमा दुई जना विशेषज्ञ चिकित्सक, नर्स तथा प्यारामेडिक्सहरु प्रत्येक जिल्लामा ६ जनाको दरले उपलब्ध गराउने गरी काम थालेको जानकारी दिइन् ।

सर्वसाधारण जनतालाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउन जिल्ला अस्पतालहरुको सबलीकरण जरुरी भएकोले जनशक्ति व्यवस्थापनका लागि बजेटको प्रबन्ध गरेको मन्त्री राईले दावी गरिन् । अस्पतालको सुदृढीकरणमा कुनै एउटा पक्षको मात्र विकास भएर नपुग्ने भन्दै उनले पूर्वाधार, जनशक्ति, आधुनिक उपकरण आदिको संयोजन मिलाउनुपर्ने सबैको सहयोगमा मात्र सबै काम सम्भव हुने बताइन् । उनले अब जिल्ला अस्पतालहरु सबैमा अक्सिजन प्लान्टसहितको पूर्वाधार स्थापना हुने बताएकी छन् ।

हिमाली र पहाडी जिल्लामा गएर काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न ३०० प्रतिशतसम्म भत्ताको व्यवस्था गरेको मन्त्री राईले बताइन् । उनले भनिन्, ‘हिमाली क्षेत्रमा ३०० प्रतिशतसम्म, पहाडमा २५० प्रतिशत र तराईमा २०० प्रतिशत भत्ता वृद्धि गर्ने तयारीमा हामी लागेका छौं । सरकारले त्यसका लागि बजेट विनियोजन पनि गरिसकेको छ ।’

मन्त्री राईले हरेक जिल्ला अस्पतालमा भेन्टिलेटर, आईसीयु र एचडियु सञ्चालन गर्ने जनशक्ति पठाइने, ख वर्गको एम्बुलेन्स सेवा र शव बाहन उपलब्ध गराउने क्रम सुरु गरिसकेको जानकारी दिइन् ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले सबैलाई खोप उपलब्ध गराउन चाहेको भएपनि खोपमा संघीय सरकारमा निर्भर हुनुपर्ने अवस्था रहेको उनले बताइन् । अहिलेसम्म प्रदेश १ मा अहिलेसम्म भेरोसेल खोप ५ लाख १८ हजार १२० डोज लगाएको जानकारी दिइन् । जोन्सनको खोप २ लाख ४० हजार जनालाई लगाइसकेको उनले बताइन् । त्यस्तै, फागुन महिनामा प्राप्त भएको ३९ हजार ३१७ भायल कोभिशिल्ड खोपमध्येबाट ३ लाख ९ हजार २४६ जनालाई लगाइएकोमा, ५२ हजार जनाले डबल डोज पाएको र अब २ लाख ५६ हजार ३९१ जनाले कोभिसिल्डको दोस्रो डोज पाउन बाँकी रहेको जानकारी दिइन् । उनले बाँकी रहेका नागरिकलाई एक्स्ट्राजेनिकाको खोप केही दिन भित्रै उपलब्ध गराइने जानकारी दिइन् ।

मन्त्री राईले तोकिएको उमेरहदका नागरिकबाहेक फ्रन्टलाइनमा रहने समुदाय, अपाङ्गता भएकाहरुलाई प्राथमिकता राखेर खोप दिइएको र अब श्रमिकहरुलाई प्राथमिकतामा राखेर खोप दिइने बताइन् ।


क्याटेगोरी : प्रदेश १
ट्याग : #उषाकला राई, #जिल्ला अस्पताल, #नर्स, #प्यारामेडिक्स, #विशेषज्ञ चिकित्सक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ