२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अख्तियारको ९ स्टिङ अप्रेसनमा २० पक्राउ : स्वास्थ्यका कर्मचारीदेखि जनप्रतिनिधिसम्म

अख्तियारको ९ स्टिङ अप्रेसनमा २० पक्राउ : स्वास्थ्यका कर्मचारीदेखि जनप्रतिनिधिसम्म


विराटनगर—गत १४ फागुन २०७७ मा मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिने औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरिक्षक सरोज सुवेदी रंगेहात पक्राउ परे । उनी बन्द भएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा अख्तियारको इटहरी कार्यालयले गरेको स्टिङ अप्रेसनमा पक्राउ परेका थिए ।

उनी विराटनगर–३ दूध फारम अगाडिबाट पक्राउ परेका थिए । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका थिए ।

उल्लेखित घटना प्रतिनिधीमूलक उदाहरण मात्रै हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गरेको ९ वटा ‘स्टिङ अप्रेसन’ मा २० जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार इटहरीले पाँच जिल्लामा ९ वटा स्टिङ अप्रेसन गरेर २० जनालाई रंगेहात घुससहित पक्राउ गरेको हो । घुस रकमसहित रंगेहात पक्राउ पर्नेमा सहायक तहदेखि अधिकृतस्तरका स्वास्थ्यकर्मी, कर्मचारीहरू र जनप्रतिनिधिसम्म रहेका छन् ।

आर्थिक वर्षमा २० जना कर्मचारी रंगेहात पक्राउ परेका मध्ये ९ लाख ५६ हजार रुपैयाँ बरामद भएको थियो भने ५ लाख ५३ हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको आयोगको कार्यालयले जनाएको छ ।

आर्थिक वर्षमा सुनसरीमा ४ वटा स्टिङ अप्रेसनमा ७ जना, सप्तरीमा ३ वटा स्टिङ अप्रेसनमा ५ जना, उदयपुरमा एउटा स्टिङ अप्रेसनमा ६ जना र मोरङ र इलाममा १ /१ वटा स्टिङ अप्रेसनबाट १/१ जनालाई रंगेहात घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी प्रमुख बावुराम खतिवडाले जानकारी दिए ।

‘स्टिङ अप्रेसन’ बाहेक पनि आयोगले उजुरीको आधारमा पनि सरकारी कर्मचारीलाई विभिन्न मितिमा विभिन्न स्थानमा पक्राउ गरी मुद्दा दायरको लागि केन्द्रीय कार्यालयमा पठाएको छ ।

अख्तियार इटहरीको कार्यालयमा आर्थिक वर्षमा १ हजार ३८ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये १ हजार ११ वटा फछर्यौट भएको कार्यालयले जनाएको छ । ३७ वटा उजुरी चालु आर्थिक वर्षको लागि सरेको कार्यालयले जनाएको छ । आर्थिक वर्षमा ४८.५८ प्रशित उजुरी फस्र्यौट भएको कार्यालय प्रमुख खतिवडाले जानकारी दिए । आर्थिक वर्षमा घुस रकमसहित पक्राउ पर्नेमा सहायकस्तरका १० जना, अधिकृत तहमा ५ जना र अन्य ५ जना रहेका छन् ।

इटहरीस्थित आयोगले घूससहित पक्राउ गरेका र उजुरी परेकामाथि अनुसन्धान पूरा गरी केन्द्रीय कार्यालयमा पठाउने गरेको अख्तियारको केन्द्रीय कार्यालयले विशेष अदालतमा मुद्दा दायर गर्ने गरेको छ । अख्तियारले घुसखोरलाई रंगेहात पक्राउ गर्न सेवाग्राहीको भेषमा स्टिङ अप्रेसन गर्दै आएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ