२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १खोप लगाउन लाइनमा बसेका कैदी ढले, अस्पताल पु¥याउँदा मृत्यु

खोप लगाउन लाइनमा बसेका कैदी ढले, अस्पताल पु¥याउँदा मृत्यु


विराटनगर—विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएका मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मंगलबार दिउँसो मोरङ कारागारमा कोभिड–१९ विरूद्धको खोप लगाउने कार्यक्रम थियो । खोप लगाउन कैदीबन्दी लामबद्ध भएर बसेका थिए । ‘लाइनमा धनबहादुर पनि बसेका थिए । खोप लगाउनुभन्दा अगाडि फेन्ट भएर ढले । तत्काल उपचार गर्न कोशी अस्पताल पु¥याउँदा उपचारको क्रममा मृत्यु भयो,’ मोरङ कारागारका जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । मृतक गुरूङ दीर्घरोगका बिरामी रहेको खुलेको छ । उनले यसअघि पनि धरानस्थित विपी कोराइला विज्ञापन प्रतिष्ठानमा उपचार गराउँदै आएका थिए ।

जबरजस्ती करणी मुद्दामा गुरूङलाई मोरङ अदालतले १० वर्ष कैद सजायको सुनाएको थियो । उनी २०७४ वैशाख ५ गतेदेखि मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका थिए । मंगलबार कारागार भित्र ७ सय १५ पुरूष र १७ जना महिला गरी ७ सय ३२ जना कैदीबन्दीले कोभिड–१९ विरूद्धको खोप लगाएको जेलर पोखरेलले जानकारी दिए ।

क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा सोमबार पनि एक जना कैद भुक्तानी गर्दै आएका कैदीको मृत्यु भएको थियो । लागूऔषध मुद्दामा कैद भुक्तान गर्दै आएका धरानका ३० वर्षीय सुवास लिम्बुको कोशी अस्पतालमा मृत्यु भएको जेलर पोखरेलले बताए ।

‘श्वासप्रश्वासमा समस्या भएपछि हामीले हस्पिटल लिएर गएका थियौ,’ उनले भने, ‘उपचारको क्रममा मृत्यु भयो ।’ मोरङ कारागारमा २ सय ५० जना क्षमताको कैदीबन्दी भएपनि अहिले तीन गुणा बढी रहेको उनले बताए । मंगलबारसम्म ९ सय ३७ जना कैदीबन्दी मोरङ कारागारमा रहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ