२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको शौचालयबाट थुनुवा फरार, डिस्चार्ज दिने तयारीपछि भागेको खुल्यो

कोशी अस्पतालको शौचालयबाट थुनुवा फरार, डिस्चार्ज दिने तयारीपछि भागेको खुल्यो


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षको शौचालयको भेन्टिलेसनबाट एक जना थुनुवा फरार भएका छन् । सोमबार बिहान मोटरसाइकल चोरी मुद्दामा पक्राउ परेका सुनसरी बुर्ज गाउँपालिका—२ का २८ वर्षीय शिवनाथ कामत अस्पतालको शौचालयबाट फरार भएका हुन् ।

८ असोजमा मोटरसाइकल चोरी आरोपमा मोरङ प्रहरीले कामतलाई पक्राउ गरेको थियो । पक्राउ परेका कामतलाई पेट दुख्ने समस्या भएपछि पाँच दिन अगाडि कोशी अस्पतालमा भर्ना गरिएको थियो । थुनुवा कामतले शौच आयो भनेर अस्पतालको शौचालय पसेका थिए । शौच गर्न गएको लामो समयसम्म पनि नआएपछि शौचालयमा हेर्दा उनी थिएनन् ।

कामत शौचालयको भेन्टिलेसनदेखि फरार भएको बुझिएको छ । फरार भएको कामतको खोजी कार्य जारी राखेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । ‘शौच गर्न गएको थुनुवा फरार भएपछि हामीले खोजी कार्य जारी राखेको छौं,’ उनले भने । पाँच दिन अगाडि भर्ना भएका कामतलाई अस्पतालले सोमबार डिस्चार्ज दिने तयारी गरेको थियो ।

त्यही तयारी गरेको अवस्थामा शौच आयो भनेर शौचालय छिरेको कामत भेन्टिलेसनबाट फरार भएको प्रहरीले जनाएको छ । चोरी आरोपमा पक्राउ परेका कामतको प्रहरीले अनुसन्धान पुरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा समेत बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा अभियोग लैजाने तयारी गर्दा प्रतिवादी कामत अस्पतालको शौचालयदेखि फरार भएका छन् ।

यसअघि पनि कोशी अस्पतालदेखि एकजना थुनुवा फरार भएका थिए । उनी पछि खोजी कार्य तीव्र बनाएपछि पक्राउ परेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ