२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १मा साढे ७ लाखले लगाए खोप

प्रदेश १मा साढे ७ लाखले लगाए खोप


विराटनगर – प्रदेश १ मा साढे सात लाख बढीले कोभिड-१९ विरुद्ध खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारी अनुसार हालसम्म ७ लाख ५४ हजार ४ सय २६ जनाले खोपको दुबै मात्रा (पूर्णखोप) लगाएका हुन् ।

यसैगरी, पहिलो डोज लगाउनेको संख्या ११ लाख १४ हजार ६ सय ८४ जना पुगेको छ । जसमध्ये भेरोसेल खोप लगाउनेको संख्या सबैभन्दा धेरै छ ।

हालसम्म ६ लाख ५९ हजार २ सय ६० जनाले पहिलो मात्रा र ३ लाख ४५ हजार ७ सय ९७ जनाले भेरोसेलको पूर्णमात्रा लगाएका छन् । २ लाख १४ हजार ३ सय ३६ जनाले कोभिसिल्डको पूर्णमात्रा लगाएका छन् ।

यही खोप पहिलो मात्रा लगाउनेको संख्या ४ लाख ५५ हजार ४ सय २४ छ । जान्सनको खोप जम्मा १ लाख ९४ हजार २ सय ९३ जनाले प्राप्त गरेका छन् । जान्सनको एक डोज खोप नै पूर्णमात्रा हो ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले तराई, पहाड र हिमाली जिल्लामा खोप अभियानलाई तीव्र ढंगले संचालन गरिएको बताउँदै भने ‘संघीय सरकारबाट खोप प्राप्त हुने क्रमले गति पाएसंगै खोप अभियानले अझ गति लिनेछ ।’

कोभिड महामारी नियन्त्रण गर्न खोपका सहयोगी भएकोले सर्वसाधारणमा खोपप्रति सकारात्मक धारणा बढेकोले अभियान संचालन गर्न सहज भएको उनले सुनाए ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले दिएको जानकारी अनुसार केन्द्रबाट हालसम्म कूल २६ लाख ६८ हजार ९ सय २० डोज प्रदेश नं १ लाई प्राप्त भएको छ । पछिल्लो पटक सोमबार कोभिसिल्डको थप २१ हजार ३ सय भाइल अर्थात २ लाख १३ हजार डोज काठमाडौबाट आइपुगेको छ ।

केन्द्रमा हाल भेरोसेलको पाँचौं डोजको पहिलो मात्रा १६ हजार ८ सय ६० डोज, पाँचौ डोजको दोस्रो मात्रा १ लाख ५९ हजार ६ सय ५० मौज्दात रहेको छ ।

आपूर्ति केन्द्रका निमित्त प्रमुख शम्भु साहका अनुसार हाल झापा, मोरङ र सुनसरीबाहेकका जिल्लामा खोप पठाउने काम भइरहेको छ । ‘हामीले अहिले हिमाली जिल्लामा खोप पठाइरहेका छौं । विशेषगरी अहिलेको खोप अभियान हिमाली जिल्लामा केन्द्रीत छ,’ साहले भने, ‘कोभिसिल्ड र भेरोसेलको थप मात्रा प्राप्त भएपछि फेरि खोप अभियान संचालन गर्न तराईका जिल्लाहरुमा पठाउने योजनासाथ काम गरिरहेका छौं ।’

उनले बालबालिकाको लागि लगाउन मिल्ने भनिएको अमेरिकी खोप फाइजर भने प्रदेशमा आइनसकेको बताए ।

आपूर्ति केन्द्रको तथ्यांकअनुसार प्रदेश १ मा हालसम्म कोभिसिल्ड ४ लाख ५९ हजार डोज र भेरोसेल ८ लाख ७१ हजार ७ सय २० डोज वितरण भइसकेको छ । जोन्सनको २ लाख ४० हजार र एस्ट्राजेनेका ४ लाख २० हजार डोज प्राप्त भएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ