२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘ओमिक्रोन’ भित्रिन नदिन प्रदेश १ का सीमा नाकामा कडाइ

‘ओमिक्रोन’ भित्रिन नदिन प्रदेश १ का सीमा नाकामा कडाइ


विराटनगर– कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिने आशंका गर्दै मोरङ विराटनगरस्थित सीमा नाका रानी–जोगवनीमा कडाइ गरिने भएको छ ।

कोभिड संकट व्यवस्थापन समिति मोरङको विराटनगरमा बसेको बैठकले नाकामा कडा निगरानी गर्ने र नेपाल भित्रिने सबै व्यक्तिहरूको एन्टीजेन्ट परीक्षण सुरु गर्ने निर्णय गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा बसेको बैठकले संक्रमित देखिएका व्यक्तिहरूलाई आवश्यकता र अवस्थाअनुसार आइसोलेसन र कोभिड अस्पतालमा पठाउने निर्णय पनि गरेको छ ।

त्यस्तै, विराटनगरलगायत मोरङका विभिन्न स्थानबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्न लगाउने, सार्वजनिक यातायात, शैक्षिक संस्थान, सरकारी कार्यालयहरू, उद्योगधन्दा कलकारखाना आदिमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउने र सबैलाई माक्स लगाउन अनिवार्य गरी त्यसका लागि स्थानीय तहले प्रचार–प्रसार गर्ने निर्णय भएको छ ।

विवाह तथा पार्टी भोजमा पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइ गर्न प्रचार–प्रसार गर्ने, जिल्लाका सबै स्थानीय तहहरूलाई कोभिडको नयाँ भेरियन्टको सम्भावित संक्रमणप्रति सतर्क रहँदै पूर्व तयारीका लागि जुट्न निर्देशन गरिएको छ । जिल्लाका अन्य सबै सीमा नाकाहरूमा थप सुरक्षा व्यवस्था कडा गर्न सीमा क्षेत्रका सुरक्षा निकायहरूलाई निर्देशन गर्नेलगायतका निर्णय भएको छ ।

कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाको पहलमा विराटनगरस्थित विराटनगर जुट मिल क्षेत्रमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण भइरहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ