२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य क्षेत्रमा बिचौलिया बिगबिगी, विराटनगरबाट फेरि तीन जना पक्राउ

स्वास्थ्य क्षेत्रमा बिचौलिया बिगबिगी, विराटनगरबाट फेरि तीन जना पक्राउ


विराटनगर– उपचार गर्न आएका बिरामीलाई कमिसनको लोभमा अन्यत्र अस्पताल र क्लिनिङमा पु¥याएर बिचौलियाको भूमिका खेलेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले विराटनगरबाट तीन जनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलामा नगरपालिका—८ का २० वर्षीय सागर राई, खोटाङ जन्तेढुगंगा गाउँपालिका २४ वर्षीय विशाला राई र विराटनगर—५ का १९ वर्षीय मोहमद सेराजलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनीहरुले उपचार गर्न आएका बिरामीलाई आफ्नो सम्पर्कमा रहेको अस्पताल, क्लिनिकमा राम्रो उपचार हुने भन्दै बिरामीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए । प्रहरीले यसअघि विराटनगरबाट एक दर्जन बढी बिचौलिया पक्राउ गरेर कारवाहीको दायरामा ल्याइसकेको छ ।

यसरी पु¥याउँछन् कमिसन दिने अस्पताल र क्लिनिक

‘हस्पिटल जानुहुन्छ । यो क्लिनिक र यो अस्पतालमा राम्रो उपचार हुन्छ । राम्रो चिकित्सक छन् । यहाँ जानुभयो भने धेरै राम्रो उपचार हुन्छ,’ शनिमन्दिर चोक, रंगेली जाने बसपार्क हाटखोला, कन्चनबारी चोकमा बसेका अस्पतालका बिचौलियाले सर्वसाधरणलाई आग्रह गर्ने भनाइ हो यो । विचौलियाहरु तराईका गाउँ तथा पहाडबाट उपचारका लागि झरेका सर्वसाधारणलाई भुलभुलैयामा पारेर आफूलाई कमिसन दिने अस्पतालमा लैजाने गरी काममा खटाइएका अघोषित फार्मेसीका कर्मचारी पनि हुन् ।

सबैभन्दा बढी विचौलिया विराटनगरको हस्पिटल चोक, गोल्डेन अस्पताल अगाडि, नोबेल अगाडि, विराट नर्सिङ्ग होम र न्यूरो चोकमा बस्ने गरेका छन् । हस्पिटल चोकमा च्याउसरी खुलेको निजी क्लिनिकहरुले ३ देखि ५ जनासम्म दैनिक बिचौलिया खटाउने गरेका छन् ।

बिचौलियाहरु शनिमन्दिर चोक, रंगेलीको जाने बसपार्क हाटखोला, कन्चनबारीमा समेत बस्ने गर्दछन् । तराईको विभिन्न क्षेत्र र पहाडी जिल्लाबाट आएका गरिब तथा सोझा बिरामी र आफन्तलाई शनिमन्दिरमा सार्वजनिक यातायातबाट उत्रिएपछि बिचौलियाले खोजिरहन्छन् । तर, उनीहरुको उद्देश्य बिरामीको राम्रो उपचार होस् भन्दा पनि बढी कमिसन कसले दिन्छ र उनीहरुलाई बढी कसरी लुट्ने भन्ने नै हुने गरेको छ ।

प्रदेश १ को राजधानी विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिरका केही फार्मेसी संचालकहरूले कमिसन दिएरै बिचौलिया राख्ने गरेको पाइएको छ । विराटनगरको हस्पिटल चोकमा रहेको केही क्लिनिकहरुले धेरै बिचौलिया राखेको स्रोतको दाबी छ । बिचौलिया राखेका फार्मेसीले बिरामीलाई भ्रमित पारेर आफू अनुकूलको निजी अस्पताल, क्लिनिक र आफ्नै औषधी पसलमा ल्याउन उनीहरुलाई जिम्मा दिन्छन् ।

१ नंं. प्रदेश प्रहरी कार्यालय र मोरङ प्रहरी कार्यालयले एक सातामा विराटनगरभित्र रहेका ठूला अस्पताल बाहिर स्ट्रिङ अप्रेसन गरेर १७ जना स्वास्थ्य क्षेत्रका बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले यसअघि नोबेल मेडिकल कलेज बाहिरबाट ७ जना, कोशी अस्पताल अगाडिबाट तीन जना, केही दिनअगाडि अगाडी न्यूरो अस्पताल अगाडिबाट २ जना र विराट नर्सिङ होम अगाडिबाट पाँच गरी १७ जना बिचौलियालाई पक्राउ गरिसकेको छ । प्रहरीकाअनुसार पक्राउ परेका उनीहरु सबै फार्मेसीका कामदारहरु हुन् ।

विराट नर्सिङ अगाडिको फार्मेसीदेखि प्रहरीले सुनसरी इनरुवा विनोद मेहता, विराटनगरका रोहित शाह, विवेक शाह, सुनिल ठाकुर र सप्तरीका सारांशकुमार चौधरीलाई पक्राउ गरेको छ । प्रहरीले यसअघि पनि अस्पताल अगाडि बसेर बिरामीलाई विभिन्न आश्वासन देखाउँदै अस्पताल लैजान भूमिका खेल्ने विराटनगर–८ अमरटोलका १८ वर्षीय प्रधुम्न राय र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाइ पक्राउ गरेको थियो । पक्राउ परेका राय र साह विराटनगरस्थित न्यूरो हस्पिटल अगाडिको ज्ञानु फार्मेसीमा काम गर्दैै आएका थिए । उनीहरूले ठूला अस्पताल आएका बिरामीलाई विभिन्न प्रलोभन देखाएर आफू अनुकूलको अस्पताल लैजाने गरेको प्रहरीले जनाएको छ ।

एक जना बिरामी बराबर १ हजारदेखि २० हजारसम्म कमिसन !

पक्राउ परेका विचौलियाले विभिन्न अफवाह फैलाई बिरामी तथा आफन्तहरूलाई झुक्याएर आफ्नो सम्पर्कमा भएको अस्पताल र क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न पनि बाध्य गराउने गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

‘विराटनगरको विभिन्न अस्पताल अगाडि बसेका विचौलियाले बिरामी र सर्वसाधारण नागरिकलाई दुःख दिएर हैरानी दिने गरेको उजुरी आएपछि हामीले पक्राउ गरेका हौं,’ मोरङका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने । पछिल्लो समय सरकारी अस्पताल कोशी र मेडिकल कलेजमा विरामी धेरै आउने भएकोले बिचौलियाहरु अस्पतालको गेट अगाडि बस्ने गर्दछन् ।

गेटअगाडि र भित्र पसेर बिचौलियाले विभिन्न अफवाह फैलाएर बिरामीलाई कमिसन आउने निजी अस्पताल र क्लिनिकमा लैजाने गरेका छन् । बिचौलियाले सम्पर्कमा आएका बिरामी उनले सम्पर्क गरेको अस्पताल र क्लिनिकमा पु¥याउँदा निश्चित रकम तोकिदिएको हुन्छ । स्रोतले दिएको जानकारी अनुसार एक जना बिरामीलाई सम्पर्कमा रहेको क्लिनिक र अस्पताल पु¥याउँदा विचौलियाले हजार रुपैयाँसम्म दिने गर्दछन् । जति बढी बिरामीले औषधी, ल्याबमा परीक्षण गरे । त्यहीअनुसार बिरामीबाट असुल भएको रकम हेरेर पनि विचौलियालाई पैसा दिने गरेको स्वास्थ्य क्षेत्रमै काम गरिरहेका एक जनाले नाम नबताउने सर्तमा बताए ।

‘बिचौलियाले हस्पिटल चोक र रंगेली लाइनमा रहेका निजी क्लिनिकहरुसँग कतिसम्म सम्झौता गरेका हुन्छन् भने एक जना बिरामीबाट २० हजारभन्दा बढीको बिल भयो भने निश्चित रकम लिनुपर्ने शर्त राखेका हुन्छन्,’ उनले भने, ‘बिरामीको २० हजारको बिल भयो भने विचौलियालाई ३ देखि ५ हजार रुपैयाँसम्म दिनुपर्दछ ।’

यस्तै, बिचौलियाले सम्पर्कमा गरेको निजी अस्पतालको भेन्टिलेर र आईसीयुमा बिरामी भर्ना भएपनि अस्पतालले निश्चित रकम छुट्याइदिने गरेको छ । बिरामी आईसीयु र भेन्टिलेटरमा भर्ना भए बिचौलियालाई २० हजार रुपैयाँसम्म दिने गरेको स्वास्थ्य क्षेत्रका एक जानकारले बताए । ‘बिचौलियाले ल्याएको एक जना विरामी निजी हस्पिटलको आईसीयुमा र भेन्टिलेटरमा भर्ना भए । त्यो बिरामीको लाखभन्दा बढी रकम अस्पताललाई बुझाउनुपर्ने हुन्छ । त्यही भएर पनि अस्पतालले बिचौलियालाई खुसी पार्न निश्चित रकम छुटयाइदिएको हुन्छ,’ अस्पताल स्रोतले भन्यो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ