२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १रङ्गेली अस्पतालको दूर्दशा : प्रसुती सेवा बन्द, २० हजार बिरामी आउने अस्पताल विशेषज्ञबिहीन

रङ्गेली अस्पतालको दूर्दशा : प्रसुती सेवा बन्द, २० हजार बिरामी आउने अस्पताल विशेषज्ञबिहीन


विराटनगर—मोरङको रङ्गेली– ४ की गर्भवती नीता कुमारी मण्डल घरसायी कामलाई थाँती राखेर स्वास्थ्य जाँचको लागि मंगलबार सबेरै रङ्गेली अस्पतालमा आएकी थिइन् । उनले यसअघि सोही अस्पतालमा चार पटक प्रसुती रोग विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य अवस्था जाँच गराएकी थिइन् ।

उनी नियमित स्वास्थ्य परीक्षण गराउने योजना बनाएर अस्पताल आएकी हुन् । तर, रङ्गेली अस्पतालमा प्रसुती रोग विशेयाज्ञ डा. प्रिंयका मिश्राले राजीनामा दिएर प्रसुती सेवा बन्द भएको सात दिन पुगेको थियो । उनले नियाउरो अनुहार पार्दै भनिन्, ‘छिटो अस्पताल आइपुगे । अस्पतालमा चिकित्सक नभएको सात दिन पो भएको रहेछ ! अनआवश्यक रूपमा दुःख मात्र पाए ।’ अब निजी हस्पिटलमा गएर स्वास्थ्य जाँच गरानुपर्ने अवस्था आएको उनले बताइन् । ‘नजिक पनि भएकोले यही अस्पतालमा स्वास्थ्य जाँच गराउने योजना बनाएर आएको थिए,’ उनले भनिन्, ‘आज त ढिलो भयो । अब भोलि विराटनगर गएर स्वास्थ्य परीक्षण गराउनु पर्ला !’

पहिलो सन्तानलाई जन्म दिन लागेकी मोरङ रङ्गेली– ९ फर्साडाँगीकी गर्भवती जानकी कुमारी ताजपुरीया पनि एक घण्टा समय खर्चेर रङगेली अस्पताल आएकी थिइन् । अस्पतालमा प्रसुती सेवा बन्द हुँदा उनी पनि परिक्षण नगराई घर फर्किन बाध्य भइन् । ‘एक घण्टा लगाएर रङगेली अस्पताल आएको थिए,’ उनले भनिन्, ‘यहाँ आइपुग्दा पो थाहा भयो प्रसुती सेवा बन्द रहेछ । बिना उपचार घर फर्किनु प¥यो ।’ अहिले रङ्गेली अस्पतालमा आएर फर्किनु परेको गर्भवती नीता र कुमारी प्रतिनिधी हुन् । उनीहरू जस्तै असोज १ गतेदेखि सरदर दैनिक ८ देखि १० जनासम्म गर्भवती महिला रङ्गेली अस्पताल आउँदै फर्किने गरेका छन् ।

आमा सुरक्षा कार्यक्रम लागू भएको रङ्गेली अस्पतालमा प्रसूती सेवा सात दिनदेखि बन्द छ । अस्पताल विकास समितिले करारमा नियुक्ति गरेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रियंका मिश्राले राजीनामा दिएपछि रङ्गेली अस्पतालमा प्रसुती सेवा बन्द भएको हो । डा. मिश्रालाई १ लाख ४० रूपैयाँ मासिक तलब दिने गरी गत वर्षको वैशाखमा करारमा नियुक्ति गरी २०७५ जेठदेखि प्रसुती सेवा सुचारू भएको थियो । प्रसुती सेवा सुरू भएको १५ महिनापछि यो सेवा बन्द भएको हो ।

रङ्गेली अस्पतलामा प्रसुती सेवा बन्द भएको ठाउँमा महिलाहरूको भिड ।

आर्थिक वर्ष २०७५/०७६ मा २ सय ९० जना गर्भवती महिलाको प्रसुती भएको अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर कटुवालले जानकारी दिए । जसमध्ये २५ जना गर्भवती महिलाको शल्यक्रिया गरी नवजात शिशुलाई जन्म दिएका थिए । ‘करारमा नियुक्ति हुनुभएको प्रसुती रोग विशेषज्ञ डाक्टर प्रियंका मिश्राले राजीनामा दिएपछि सात दिनदेखि प्रसुती सेवा बन्द छ,’ अस्पतालका सूचना अधिकारी कटुवालले भने, ‘यहाँ आएका बिरामीलाई हामी अन्य अस्पतालमा रेफर गरिदिने गरेका छौं ।’ अस्पताल प्रशासनले डा. मिश्रालाई असोज १५ गतेसम्म बिरामीको स्वास्थ्य अवस्था जाँच गरिदिन आग्रह गरेको थियो । तर, मिश्राले राजीनामा दिएपछि असोज १ गतेदेखि अस्पताल नआएको बुझिएको छ ।

वार्षिक २० हजार बिरामी आउने अस्पताल विशेषज्ञबिहीन

रङ्गेली अस्पतालमा वार्षिक २० हजार २ सय ३७ जना बिरामीले ओपिडीमा सेवा लिदै आएका छन् । यहाँ मोरङको पूर्वी दक्षिण, उतरी र सिमावर्ती भारतसम्मका आर्थिक अवस्था नाजुक भएका बिरामीले स्वास्थ्य लाभ लिदैं आएका छन् ।

दैनिक करिब ६० देखि ७० जना बिरामीले सेवा लिने अस्पताललमा एक जना पनि विशेषज्ञ चिकित्सकको दरबन्दी नहुनु दुर्भाग्य भएको स्थानीय रविन्द्र बराल बताउँछन् । अस्पतालको अभिलेखअनुसार आर्थिक वर्ष २०७३/०७४ मा १७ हजार ८ सय ५१ जना बिरामीले ओपीडीमा स्वास्थ्य परीक्षण गरेका थिए भने ०७४/०७५ मा १९ हजार ४१ जनाले स्वास्थ्य परिक्षण गराएको देखिन्छ ।

अस्पतालको अभिलेखअनुसार आर्थिक वर्षमा अस्पतालमा भर्ना भएका विरामी १ हजार ६, आकस्मिक कक्षमा ७ हजार ३ सय ७० जना बिरामी देखिन्छ । यस्तै, एक्स–रे ३ हजार ७ सय १, इसिजी ५ सय २४, यूएसजी ३ हजार ४ सय ७५ जनाले आर्थिक वर्षमा रङगेली अस्पतालमा गराएको अभिलेखमा उल्लेख छ ।

स्टोर रूममा थन्किए उपकरण

प्रसुती सेवा बन्द भएपछि अहिले अस्पतालको आइसियु, एनआईसियुमा रहेको उपकरणहरू स्टोर रूमा थन्किएको छ । ६ वेडको आइसियु र ३ बेडको एनआईसियुको उपकरणहरू आइसीयु कक्षमा स्टोर गरिएको छ । स्टोर गरिएको उपकरणहरूमा माकुराको जालो लाग्न थालेको छ । ‘अस्पतालमा अत्याधुनिक उपकरणहरू छ नि,’ कटुवालले भने, ‘विशेषज्ञको एक जना पनि दरबन्दी छैन् ।’

२० शैयाको जिल्ला अस्पताल रहेको रङगेली अस्पतालाई अहिले स्थानीय तहको मातहतमा रहने गरी प्राथमिक अस्पतालको परिणत छ । जिल्ला अस्पताल हुँदा ४६ जनाको दरबन्दी रहेको यो अस्पतालमा अहिले २८ जनाको मात्र दरबन्दी रहेको सूचना अधिकारी कटुवालले जानकारी दिए । कर्मचारी समायोजनपछि चिकित्सकहरू रङ्गेली अस्पतालमा आउन नमान्ने गरेका छन् ।

‘९ औं तहको सुपरिटेन्टेण्डेन्ट र ८ औं तहको २ जना मेडिकल अफिसरको दरबन्दी रहेको छ,’ उनले भने, ‘अहिलेसम्म आएका छैनन् । सरुवा भएर यहाँ भएका कर्मचारी जान्छन् । तर, आउने कर्मचारी अहिलेसम्म आएका छैनन् ।’ २८ जनको दरबन्दी भएपनि अहिले अस्पतालमा २० जना मात्र कर्मचारी कार्यरत छन् । अस्पतालमा अहिले सामान्य ओपिडी र आकस्मिक सेवाहरू मात्र संचालनमा छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ