२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १होल्डिङ सेन्टर भद्रगोलः समयमै नबन्दा भारतबाट फर्कने संक्रमित घरमा

होल्डिङ सेन्टर भद्रगोलः समयमै नबन्दा भारतबाट फर्कने संक्रमित घरमा

चार दिनमा काम सक्न मुख्यमन्त्रीको निर्देशन


विराटनगर—सम्भावित कोभिड–१९ संक्रमितलाई राख्न विराटनगर–१६ जुट मिल्स भित्र बनाउन सुरु गरेको १ हजार शैय्याको होल्डिङ सेन्टर समयमै नबन्दा भारतबाट आएका संक्रमित सोझै घर जाने गरेको पाइएको छ ।

निर्माणको प्रक्रियामा रहेको होल्डिङ सेन्टर तयारी अवस्थामा नरहँदा भारतको जोगवनी हुँदै विरानगर रानी नाकाबाट आएका संक्रमित सोझै घर जाने गरेका हुन् । रानी नाकामा रहेको हेल्थ डेक्सले संक्रमितहरुलाई उनीहरुको स्थायी ठेगाना रहेको स्थानीय तहसँग समन्वय गरेर घर पठाउने गरेको छ ।

रानी नाकाबाट पुस महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोभिड–१९ संक्रमण भएको पुष्टि भएको छ । ‘तर, संक्रमितहरुलाई राख्ने विराटनगर १६ मा बनेको होल्डिङ सेन्टर तयार भएको थिएन,’ सीमा नाका रानीमा रहेको हेल्थ डेक्सका एक कर्मचारीले भने, ‘केही उपाय नभएपछि घरै पठाइदियौं ।’ यसरी संक्रमित भएको पुष्टि हुँदा पनि समयमै संक्रमितलाई राख्ने आइसोलेसन र होल्डिङ सेन्टर तयार भइनसक्दा संक्रमित सिधै घर जाने गरेका छन् । यसरी संक्रमित सिधै घर जाँदा संक्रमण फैलिने खतरा बढेर जाने चिकित्सकहरुले बताएका छन् ।

होल्डिङ सेन्टर निर्माणको काम अधुरै रहेका कारण नाकामा पोजेटिभ पुष्टि भएकाहरुलाई सिधै घर पठाउने गरिएको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए । उनले भने, ‘एन्टिजेन पोजेटिभ देखिएकाहरुलाई आफन्तसँग सम्पर्क गरेर होम आइसोलेसनका लागि पठाउँछौं । होल्डिङ सेन्टर तयार भएको छैन ।’

सरकारले ५ वैशाखमै नेपाल भारत सीमा नजिक विराटनगरसहित ८ ठाउँमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । १३ वैशाखमा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिइएको थियो । तर, अहिलेसम्म कुनै पनि होल्डिङ सेन्टर बनेर प्रयोग गर्न मिल्ने अवस्थामा छैन । अधिकांश स्थानमा होल्डिङ सेन्टर निर्माणकै चरणमा छ ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष्य लिएको छ । सीमा क्षेत्रबाट प्रवेश गरेका संक्रमितहरुलाई नाकामै रोकेर परीक्षण गर्ने र पोजेटिभ पुष्टि भए उनीहरुलाई तत्कालै होल्डिङ सेन्टरमा पठाउनुपर्ने हो । तर, अहिले सीमा नाकाबाट प्रवेश गरेकाहरुमा संक्रमण देखा पर्दा पनि होल्डिङ सेन्टरहरुको निर्माण नै सकिएको छैन । अपेक्षाकृत रुपमा ढिलो गरी होल्डिङ सेन्टरको निर्माण हुँदा सम्भावित संक्रमितहरुको पहिचान र संक्रमणको रोकथाममा चुनौती थपिएको छ ।

प्रदेश १ मा विराटनगरको रानीसहित झापाको हडिया नेपाली सेनाले होल्डिङ सेन्टर निर्माणको व्यवस्थापन जिम्मा लिएर ठेकेदार कम्पनी हनुमान कन्ट्रक्सनलाई ठेक्का लगाएर निर्माणको काम अघि बढाएको छ । तर, संक्रमणको जोखिम वृद्धि भइसकेका कारण होल्डिङ सेन्टरको औचित्यमाथि नै प्रश्न उठ्ने देखिएको छ ।

विराटनगरमा बन्ने होल्डिङ सेन्टरमा मूल क्वारेन्टाइन ब्लक, किचेन, डाइनिङ र शौचालय गरी ५९ वटा ब्लकहरु बनिरहेका छन् । जसमध्ये किचेन डाइनिङ १५ वटा, चर्पी २२ वटा, सीमा नाकाबाट प्रवेश गर्ने नागरिकहरुलाई राख्ने क्वारेन्टाइन ब्लक २० वटा र प्रशासनिक ब्लक दुई वटा रहेका छन् ।

नेपाली सेनाका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ । बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए ।

चार दिनमा काम सक्न मुख्यमन्त्रीको निर्देशन

समयमै निर्माण सम्पन्न नभएपछि विराटनगर १६ मा निर्माणधिन होल्डिङ सेन्टर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसहित मन्त्रीहरूले निरीक्षण गरेका छन् ।

कोभिड–१९ को तेस्रो लहर बढिरहेका बेला समयमै निर्माण सम्पन्न नभएपछि निर्माणाधीन होल्डिङ सेन्टर र सीमा नाकाहरुको निरीक्षण आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादवसहितको टोलीले गरेको हो ।

अनुगमनको क्रममा मुख्यमन्त्री राईले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिन भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । कोभिड संक्रमण दर बढिरहेको भन्दै उनले सीमा नाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न उनले निर्देशन दिए ।

मुख्यमन्त्री राईले खोप अभियानलाई पनि क्रमशः बढाउँदै लाने बताए । उनले सबै राजनीतिक दहरुका बिचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए ।

आन्तरिक मामिला तथा कामनुन मन्त्री केदार कार्कीले चार दिनभित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामाग्री आफूले दिने बताए । ‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोभिड जनसुरक्षा कोष, महानगरपालिकासँग समन्वय गर्नुप¥यो । पानी तान्नका लागि उपकरण छैन भने म कहाँ आउनुहोस् ।’

सीमा क्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिए । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उतापारी गएँभने पनि खोप कार्ड अनिवार्य गर्नुहोस्,’ उनले भने, ‘हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका–१६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिन भित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए । जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ