२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

‘थप २ करोड बढी डोज खोप सुनिश्चित भइसकेको छ’


विराटनगर–स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप सेवा प्रभावकारी बनाउन कार्यसूची बनाएर गाउँ–गाउँमा अभियान चलाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रदेश १ को कुन जिल्लाको कुन÷कुन स्थानीय तहमा सबभन्दा कम १८ वर्षमाथिका व्यक्तिले खोप लगाएका छन्, त्यहाँबाट खोप अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।

कोभिड–१९ महामारीले आर्थिक गतिविधि र सक्रिय जीवनशैलीमा असर पर्न नदिनका लागि सम्पूर्ण तयारी गर्न उनले प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे । ‘आर्थिक गतिविधि र सक्रिय जीवनशैलीलाई ठप्प पारेर पूर्ण लकडाउनमा नजाने सरकारको रणनीति रहेकाले सोहीअनुसार कोभिड नियन्त्रण र रोकथामको व्यवस्थापनमा जुटौं,’ उनले भने, ‘यसका लागि खोप सेवा १८ वर्षमाथिका प्रत्येक नागरिक लगाउनुको विकल्प छैन । त्यसैले खोपको दुई मात्रा पूरा भएकालाई बुस्टर डोज खोप लगाउने अभियानसमेत सुरु गरिसकेका छौं ।’

कोभिड–१९ तेस्रो लहरमा विद्यालय पनि पूर्ण रुपमा बन्द नगर्ने सरकारको रणनीति रहेको खतिवडाको भनाइ थियो । उनले कोभिड–१९ को तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने भएकाले १५–२० दिन विद्यालय बन्द गरेर अवस्थाको अध्ययन गर्ने र त्यसपछि भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्ने योजना सार्वजनिक गर्ने बताए ।

मन्त्री खवितडाले १ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन विश्व स्वास्थ्य संगठनले अनुमति दिनासाथ खोप लगाउन सुरु गर्ने सम्पूर्ण तयारी भइसकेको बताए । यसका लागि मोडर्ना र फाइजर खोपका लागि पहिलो भुक्तानीसमेत गरिसकेको उनको भनाइ थियो ।

यसअघि समाजवादी प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले २ करोड डोजभन्दा बढी थप खोप सुनिश्चित भइसकेकोले खोपको कुनै अभाव नरहेको भन्दै पछिल्लो समय खोप लगाउन आउनेको संख्या न्यून भएकोले गाउँ टोलमै पुगेर खोप सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले नियमित खोप लगाउने खोप केन्द्र बाहेक सर्वजनिकस्थलमा खोप डेस्क स्थापना गरेर नागरिकलाई पहिलो र दोस्रो मात्रा खोप लगाउने तयारी बढाएको बताए । ‘सरकारसँग पर्याप्त खोप छ । तर, खोप लगाउनेहरु खोप केन्द्रसम्म आइरहेका छैनन्,’ मन्त्री खतिवडाले भने, ‘पहिलो र दोस्रो मात्रा खोप नलगाएसम्म बुस्टर डोज दिन नमिल्ने भएकोले सबैलाई खोप लगाउन गाउँ टोलमै पुग्ने गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न हामीले तीनै तहका सरकार र निकायलाई निर्देशन गरेका छौं ।’ अभियान कम चलेका जिल्ला र गाउँ टोल पहिचान गरी खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

प्रदेश १ मा अहिले पनि २ लाख डोजभन्दा बढी खोप मौज्दात रहेको जानकारी दिँदै मन्त्री खतिवडाले थप खोप आवश्यक परेमा तत्काल उपलब्ध गराउने जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ