२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १खेर जाने फोहोरबाट बायो ग्यास उत्पादन गर्दै कोशी अस्पताल

खेर जाने फोहोरबाट बायो ग्यास उत्पादन गर्दै कोशी अस्पताल


विराटनगर–विराटनगरस्थित कोशी अस्पतालले खेर जाने फोहोरबाट बायो ग्यास उत्पादन सुरू गरेको छ । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्दै अस्पतालले वायु ग्यास उत्पादन सुरु गरेको हो ।

अस्पताल परिसर भित्र व्यवस्थित रूपमा प्लान्ट निर्माण गरेर अहिले वायो ग्यास उत्पादन सुरु गरिएको अस्पतालकी फोहर मैला व्यवस्थापन संयोजक नर्सिङ अधिृकत सोनी सुवेदीले जानकारी दिइन् । अस्पतालबाट दैनिक निस्किने फोहर खाना, डेलिभरी भएर गर्भवती महिलाले बच्चा जन्माउँदा निस्किने सालनाललगायतका फोहोरहरु प्रशोधन गरेर वायो ग्यास उत्पादन सुरु गरिएको उनले बताइन् ।

‘अस्पतालबाट दैनिकजसो निस्किने फोहोरजन्य वस्तुहरु जथाभावी फाल्ने गरिएको थियो । अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गर्ने योजना बनेपछि अहिले सम्पूर्ण फोहोरहरु भण्डारण गरेर राख्ने गरिएको छ । फोहोरबाट अहिले वायो ग्यास बनाउन सुरु गरिएको छ,’ संयोजक सुवेदीले भनिन् ।

अस्पतालको उत्तरपट्टीको खाली जमिनमा वायो ग्यास प्लान्ट निर्माण गरिएको छ । अस्पतालबाट निस्किने फोहर प्रशोधन गरिने आउटलेट ६ घनमिटरको क्षमताको बनाएको छ । ‘अस्पतालबाट निस्किने सालनाल राख्ने छुट्टै ठाउँ रहेको छ । सालनालसहितको फोहोरहरु इन्लेटमा राखेर ग्यासका लागि प्रशोधन गर्ने ठाउँमा पढाइने गरेको छ,’ उनले भनिन् ।

अस्पतालले निकालेको वायो ग्यासबाट उपकरण र औजारहरुको निर्मुलीकरण गरिने तयारी सुरु गरिएको उनले बताइन् । ‘वायो ग्यास उत्पादन भएपछि चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीलाई प्रयोग गर्ने औजारहरुको निर्मुलीकरण यही वायो ग्यासबाट गर्ने हामीले तयारी गरेका छौं,’ उनले भनिन्, ‘त्यसको लागि छुट्टै भवन निर्माण भइरहेको छ ।’ एक महिना भित्रमा फोहर प्रशोधन गरेर ल्याएको वायो ग्यास प्रशोधन गरिने छुट्टै एउटा घर निर्माण गरेर उपकरणहरुको निर्मलीकरण गर्नुको साथै अन्य विभिन्न कामहरु पनि गर्न सकिने अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।

‘यसअघि अस्पतालबाट निस्किने फोहोरहरु जथाभावी फाल्ने गरिएको थियो । वायो ग्यास प्लान्टको तयारी गरेपछि हामीले एउटा पनि अस्पतालबाट निस्किने फोहोर बाहिर लैजान वा फाल्न दिएको छैन,’ मेसु दासले भने, ‘अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन गरी वायो ग्यास उत्पादन गर्न सुरु गरेका छौं ।’ निटक भविष्यमा थप विस्तार गर्दै अगाडि बढने उनले बताए ।

अस्पतालको पाँच लाख र उर्जा मन्त्रालयको ५ लाख गरी १० लाख लागतमा उक्त वायो ग्यास प्लान्ट निर्माण भएको हो । उक्त प्लान्ट निर्माणको ठेक्का भगवती गोबर ग्यासले पाएको थियो ।

कोशी अस्पतालले फोहोरबाट उत्पादन सुरु गरेको वायो ग्यास प्लान्ट देखाउँदै एक कर्मचारी ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ