२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १केयुको निर्देशन अवज्ञा गर्दै नोबेल मेडिकल कलेजद्वारा विद्यार्थी भर्ना लिन अझै आलटाल

केयुको निर्देशन अवज्ञा गर्दै नोबेल मेडिकल कलेजद्वारा विद्यार्थी भर्ना लिन अझै आलटाल


विराटनगर– काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले विद्यार्थी भर्ना गरी पठन–पाठन गर्ने दिएको निर्देशन विराटनगरस्थित नोबेल मेडिकल कलेजले अवज्ञा गरेको छ ।

काठमाडौं युनिभर्सिटीले ११ माघ ११ मा नोबेल मेडिकल कलेज विराटनगर र काठमाडौं मेडिकल कलेजलाई पत्राचार गर्दै एमबीबीएस, बिडिएस र बिएनएस कार्यक्रमअन्तर्गतका विद्यार्थीहरुको अध्यापन निरन्तरता दिन निर्देशन दिएको थियो । यसका साथै युनिभर्सिटीले एमबीबीएस तहमा अध्ययनका लागि होस्टेल सुविधा विद्यार्थीको ऐच्छिक विषय हुने भई आएको भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्र समेत पठाएको थियो ।

काठमाडौं विश्वविद्यालयका पत्र सार्वजनिक भएपछि राजनीतिक दलनिकटका विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । तर, मेडिकल कलेजका विद्यार्थीहरुले भर्ना हुन पाउनुपर्ने र पढ्न पाउनुपर्ने माग भने अझै पूरा नभएको बताएका छन् ।

‘हामीले त आन्दोलन अझै जारी राखेका छौं । हामीलाई अझै कलेज प्रशासनले भर्ना हुन दिएको छैन,’ चिकित्सा शिक्षा संघर्ष अभियानका महासचिव सौगात पाण्डेले भने, ‘काठमाडौं विश्वविद्यालयको पत्रअनुसार पनि कलेजले विद्यार्थीलाई भर्ना हुन दिनुपर्ने हो । तर, दिएको छैन ।’ हाल ७० जना विद्यार्थीमध्ये ३० जनालाई नोबेल मेडिकल कलेजले अझै भर्ना नलिएको उनको भनाइ छ ।

‘पढ्नका लागि त हामीलाई भर्ना गर्नुप¥यो नि,’ उनले भने, ‘भर्ना नै लिएको छैन । बाहिर संचारमाध्यममा हामी काठमाडौं विश्वविद्यालयको भनाइ मान्छौं भन्छन् । त्यही आधारमा विद्यार्थी भर्ना लिन जान्छन् । तर, कलेजले भर्ना लिन मान्दैन् ।’

उनले आफूहरुको आन्दोलन अझै नरोकिने बताए । ‘हामी आन्दोलन रोक्दैनौं । जे हुन्छ आन्दोलन कन्टिन्यु गर्ने भन्ने छ,’ पाण्डेले भने, ‘सहमति भयो भन्ने अन्य विद्यार्थी संगठनलाई पनि लागेको थियो । काठमाडौं विश्वविद्यालयले पनि निर्देशन दिएपछि सबै कलेजले मान्छन् भन्ने थियो । तर, त्यसको नोबेलमा पालना भएन ।’

विद्यार्थीलाई भर्ना हुन दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पनि पहल गरिरहेको छ । तर, कलेज प्रशासनले जिल्ला प्रशासन कार्यालयको पत्राचार र पहललाई नटेरेको पाण्डेको भनाइ छ ।

कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले १९ मंसिरदेखि न्यायका लागि संघर्ष गर्दै आएका हुन् ।

तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलेसन शुल्क ९८ हजार ५ सय ७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीले बताए । उक्त शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाउँदै आएको छ ।

आन्दोलनरत विद्यार्थीहरुले भने तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आएका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ