२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा नयाँ भवन निर्माणको काम धमाधम, यस्तो बन्दैछ पाँच तले अत्याधुनिक भवन

कोशीमा नयाँ भवन निर्माणको काम धमाधम, यस्तो बन्दैछ पाँच तले अत्याधुनिक भवन


विराटनगर–विराटनगरस्थित कोशी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तलाको भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको छ । सहरी विकास भवन निर्माण विभागबाट ‘भेरिसन अर्डर’ आउन ढिलो हुँदा अस्पतालको भवन निर्माणको काम केही समय रोकिएको थियो ।

विभागबाट एक साता अगाडि भेरिसन अर्डर आएपछि निर्माण कार्यले गति लिएको हो । भेरिसन अर्डर आएपछि सम्झौता अवधिमा काम सक्ने गरी निर्माणको काम अगाडि बढाएको निर्माण कम्पनीका साइट इन्जिनियर दिलीप मण्डलले जानकारी दिए ।

‘सिफ्ट बनाएर अहिले भवन निर्माणको कामलाई अगाडि बढाएका छौं,’ मण्डलले भने, ‘राती र दिउँसो दुवै समयमा निमार्णको काम भइरहेको छ ।’ अहिले भवनको अन्डरग्राउण्डको बेस बसाएर ढलानको काम भइरहेको उनले बताए । ‘साइट क्लियर भएपछि निर्माणको कामले पनि गति लिएको छ,’ उनले भने, ‘यही गतिमा काम अगाडि बढे सम्झौता अवधिमा निर्माण पूरा गरी अस्पतालको भवन हस्तान्तरण गर्ने तयारीमा रहेका छौं ।’

निर्माण कम्पनी रमन भूमीका संचालक कृष्ण बोहोराले आयोजना, अस्पताल र सबैको साथ सहयोग पाए तोकिएको मितिभन्दा चाँडै निर्माण गरी हस्तान्तरण गरिने बताए । ‘अस्पताल भनेको जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको ठाउँ हो । त्यहीले हामीले गुणस्तरलाई ध्यान दिएर सम्झौताभन्दा अगाडि निर्माण प्रक्रिया पूरा गरेर हस्तान्तरण गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘त्यसका लागि सबैको साथ सहयोग आवश्यक छ ।’

३३ करोड लागतमा अन्डरग्राउण्डसहित अत्याधुनिक भवन

सहकारी विकास तथा भवन निर्माण विभागको ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ बजेटमा अन्डरग्राउण्डसहित पाँच तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुँइतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए ।

दोस्रो तलामा एचडियुसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शैय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला ५० शैय्याको हुनेछ ।

सो भवन निर्माण रमनभूमीले ठेक्का पाएपछि निर्माणको काम हुँदै आएको छ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । मास्टरप्लान अनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ ।

हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शैय्या पु¥याउने कोशी अस्पतालका मेडिकल सुपरिटेन्डडेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

रमनभूमी बिआईपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरबीच गत असारमा सम्झौता भएको थियो । सम्झौता भएको तीन महिनापछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भवन शिलान्यास गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको थियो । भवन बनाउने सम्झौता २०७८ असार २३ गते गरिएको छ भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ