२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ६८ चिकित्सक र १०२ नर्ससहित २५५ कर्मचारी तत्काल थप्न प्रस्ताव

कोशी अस्पतालमा ६८ चिकित्सक र १०२ नर्ससहित २५५ कर्मचारी तत्काल थप्न प्रस्ताव


काठमाडौं—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा तत्काल २ सय ५५ कर्मचारी थप्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ । केन्द्रीय अस्पतालको रुपमा रहेको कोशी अस्पतालले भण्डै ६ महिनाअघि थप सेवा प्रवाहका लागि नयाँ संगठन, संरचना र दरबन्दी (ओएनएम) स्वीकृतीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको हो ।

तीब्रतर भौतिक पूर्वाधार सेवा विस्तारमा जुटिरहेको कोशी अस्पतालले नयाँ ओएनएमअनुसार २ सय ५५ जनशक्ति तत्काल थप्नुपर्ने प्रस्ताव गरेको छ । जसमा १ सय २ जना नर्स थप्न प्रस्ताव गरिएको छ । जसमा २ जना ७÷८ औं तहका नर्सिङ अधिकृत र १०० जना स्टाफ नर्स थप्ने प्रस्ताव छ ।

यसैगरी, ६८ जना चिकित्सक थप्न प्रस्ताव गरिएको दरबन्दी तेरिजमा १४ जना ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट चिकित्सक थप्न प्रस्ताव गरिएको छ । यस्तै, ९/१० औं तहका ३४ जना बरिष्ठ कन्सल्टयान्ट चिकित्सक र २० जना मेडिकल अधिकृत थप गर्न प्रस्ताव गरिएको छ । नयाँ संगठन संरचनामा २ जना ९/१० औं तहका फिजियोथेरापिष्ट थप्न प्रस्ताव छ भने राप तृतीय श्रेणीको कानुन अधिकृत पनि छ । अन्य विभिन्न पदमा पनि अस्पतालले तत्काल आवश्यक पर्ने जनशक्ति उक्त ओएनएममा प्रस्ताव गरेर स्वास्थ्यलाई पठाएको छ ।

अस्पताल ५ सय शैय्यामा स्तरोन्नती गर्ने र अन्य सेवाहरु विस्तार गर्ने तयारी स्वरुप तत्काल जनशक्ति थप गर्नुपर्ने अस्पताल नेतृत्वको भनाइ छ । ‘हामीले नयाँ ओएनएम गरेर पठाएको झण्डै ६ महिना भइसकेको छ,’ हालै कोशीको मेडिकल सुपरिटेन्डेन्टबाट इडिसिडीको निर्देशकका सरुवा भएका कोशीका निवर्तमान मेसु डा. चुमनलाल दासले भने, ‘नयाँ सेवा प्रवाहका लागि हामीले २ सय ५५ जनाको दरबन्दी तत्काल थप गर्न माग गरेका हौं ।’ उनकाअनुसार अहिले नै पनि अस्पतालका थुप्रै दरबन्दी रिक्त रहेकाले काम गर्नमा कठिनाई भइरहेको छ ।

कोशी अस्पतालमा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले आफूहरुले नयाँ ओएनएम स्वास्थ्य मन्त्रालयमा पठाएको बताउँदैं यसबारेमा आफू अध्ययनकै क्रममा रहेको जानकारी दिए ।

अहिले कोशी अस्पतालमा ११ औं तहका १ मेडिकल सुपरिटेन्डेन्ट, १ जना प्रमुख अस्पताल नर्सिङ प्रशासकको दरबन्दी छ । यस्तै, ११ औं तहका १६ जना प्रमुख कन्सल्ट्यान्ट चिकित्सक र १ जना प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्टको दरबन्दी छ । यसैगरी, ९÷१० औं तहका वरिष्ठ कन्सल्ट्यान्ट चिकित्सक, २३ जना मेडिकल अधिकृत, ३ जना डेन्टल सर्जन, ४ जना नर्सिङ अधिकृत, ६१ जना स्टाफ नर्ससहित विभिन्न पदमा गरी कुल २ सय ४९ जना कर्मचारीको दरबन्दी कोशीमा छ ।

तत्काल थप्नका लागि प्रस्ताव गरिएको नयाँ दरबन्दी पास भएर लागु भएमा कोशी अस्पतालमा कर्मचारी संख्या ५०३ पुग्नेछ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ