२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरोमा जोर्नी प्रत्यारोपण सेवा, भारत जाने बिरामी रोक्दै

न्यूरोमा जोर्नी प्रत्यारोपण सेवा, भारत जाने बिरामी रोक्दै


विराटनगर–प्रदेश १ को राजधानीमा रहेको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालमा जोर्नी प्रत्यारोपणसम्मको उपचार हुने गरेको छ । जोर्नी प्रत्यारोपणको सफल उपचार हुन थालेपछि भारत र काठमाडौं जानुपर्ने बिरामीको समस्या अन्त्य हुँदै गएको छ ।

यो अस्पतालमा प्रदेश १ मा पहिलो पटक न्यूरो अस्पतालमा सोल्जर (काँध) को अर्थोस्कोपीक शल्यक्रिया दुरबिनको माध्यमबाट गरिन सुरु गरेको छ । काँधको शल्यक्रिया काठमाडौं र विदेशतिर मात्र हुने गरेको थियो । प्रदेश १ मा पहिलो पटक न्यूरोमा उपचार सुरु भएको अस्पतालले जनाएको छ ।

यस्तै, न्यूरोमा अर्थोस्कोपीक प्रविधीबाट, हाडजोर्नी सम्बन्धी उपचार, मेरुदण्ड शल्यक्रिया, मेरुदण्डमा स्टील हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) को हुने गरेको छ । जोर्नी प्रत्यारोपण सेवा सुरु भएपछि अब यही उपचारका लागि विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीनकुमार कर्णले बताए ।

‘दुरबिनको माध्यमबाट गरिने काँधको शल्यक्रिया विराटनगरमा भर्खरै सुरु गरिएको सेवा हो । कसैलाई चोट लागेर काँधको जोर्नी खुस्किन्छ । यसरी जोर्नी खुस्कियो भने तानेर ल्याउँछौं । दुई वा दुईभन्दा बढी पटक खुस्कियो भने दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ । त्यसलाई दुरबिनबाट ठाउँमा सेट गरिन्छ र ठिक हुन्छ,’ डा. कर्णले भने, ‘अर्को भनेको उमेर बढदै गयो भने सोल्जरको मसल्स च्यातिने हुन्छ । त्यसलाई पनि दुरबिनको माध्यमबाट शल्यक्रिया गरिन्छ ।’

अहिले काँधमा समस्या भएपछि यसको शल्यक्रिया गराउन आउने बिरामी पनि बढेको डा. कर्णले बताए । ‘सुरुवाती चरणमा ६ महिनामा एक पटक एक जनाको काँधको शल्यक्रिया हुने गरेको थियो । अहिले महिनामा एक जना बिरामी आउने गरेका छन् । सचेतना र बिरामीको सफल उपचार भएपछि यस रोगका बिरामी पनि आउने गरेका छन्,’ उनले भने, ‘यसअघि काँधको शल्यक्रिया गराउन काठमाडौं वा भारतलगायतका विभिन्न देश जानुपर्ने अवस्था थियो । न्यूरोमा प्रविधिको माध्यमबाट शल्यक्रिया सुरु भएपछि विदेश जानुपर्ने बाध्यता पनि अब हटेको छ ।’

डा. कर्ण एक दशकअघि देखि न्युरो अस्पतालमा आबद्ध भएपछि हाड जोर्नी सम्बन्धी समस्या भएका बिरामीको उपचारमा न्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको हो । अस्पतालमा हाड जोर्नीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका बिरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर बिरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको हो । नेपाली र भारतीय बिरामीहरुले हाडजोर्नी सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ ।

न्यूरो अस्पतालमा २७ जनाको घुँडा जोर्नी प्रत्यारोपण गरिएको छ । ६ जनाको दुवै घुँडाको शल्यक्रिया गरिएको छ । घुँडाको जोर्नी प्रत्यारोपणका लागि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको उनले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ । घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित ज्वाइन्ट इम्प्लान्ट राखिन्छ । खासगरी वृद्धावस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै चिकित्सक कर्णले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू झन् हिंँडडुल गर्न सक्दैनन् भन्ने जनमानसमा जुन धारणा छ, त्यो विलकुल गलत भएको उनले बताए । ‘घरभित्र र बाहिर सामान्य हिंँडडुल गर्न नसक्ने, शौचालय जान नसक्ने तथा जीवनभर दुखाइको पीडा सहेर बस्नुपर्ने बिमारीले जोर्नी प्रत्यारोपण गर्दा उनीहरूलाई पुनर्जन्म पाएजस्तो महसुस हुन्छ । कुनै किसिमको दुखाइ र पीडा रहँदैन,’ डा. कर्णले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ