२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १७ लाखसम्म लिएर ‘डिप्लोमा इन फार्मेसी’को नक्कली प्रमाणपत्र बनाउने गिरोह सक्रिय

७ लाखसम्म लिएर ‘डिप्लोमा इन फार्मेसी’को नक्कली प्रमाणपत्र बनाउने गिरोह सक्रिय

५ लाखमा प्रमाणपत्र किनेर फार्मेसी सञ्चालन गर्ने एक जना पक्राउ


विराटनगर—‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । डिप्लोमा गरेको फर्मासिस्टले औषधि पसल संचालन गर्न अनुमति पाउछ ।

जसका कारण डिप्लोमा इन फार्मेसी उत्तीर्णको नक्कली प्रमाणपत्र बनाउने गिरोह प्रदेश १ मा सक्रिय रहेको पाइएको हो । गिरोहले ५ देखि ७ लाख रुपैयाँ लिएपछि डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाउने गरेको पाइएको छ ।

उजुरीका आधारमा छानविन गर्दा गिरोहले झापाको एउटा फार्मेसी संचालकको नक्कली डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाणपत्र बनाएको पाइएपछि यस्तो रहस्य बाहिरिएको हो । औषधि व्यवस्था विभागले झापाको मेचीनगरपालिका–६ काकरभिट्टाका रिस्ता मेडिकल हलका संचालक २८ वर्षीया उमा पुरीले ‘डिप्लोमा इन फार्मेसी’ उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र बनाएको भेटिएपछि बुधबार नियन्त्रणमा लिएको छ ।

उनलाई उजुरीको आधारमा औषधि व्यवस्था विभाग विराटनगरले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकी पुरीलाई थप कारवाहीको लागि झापा प्रहरीलाई बुझाइएको छ ।

उनले नक्कली प्रमाणपत्र बनाउन ५ लाख रूपैयाँ गिरोहलाई दिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको औषधि व्यवस्था विभाग विराटनगरका कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले बताए । ‘पाँच लाख रूपैयाँ बुझाएपछि दलालले डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाणपत्र बनाएको पाइएको छ,’ उनले भने । पक्राउ परेकी पुरीले सन् २०१४ देखि १०१७ सम्ममा सुनसरी टेक्निकल कलेजबाट डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाण—पत्र बनाएको पाइएको उनले बताए ।

उजुरी परेपछि पुरीले संचालन गरेको औषधि पसल विभागले अनुगमनको गरेको थियो । अनुगमनको क्रममा उनले डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाणपत्र देखाएकी थिइन् । अनुगमन टोलीलाई उनको प्रमाणपत्रमा हस्ताक्षर नक्कली हो कि भनेर शंका लागेपछि छानविन अगाडि बढाइएको थियो । ‘विभागले कलेजलाई उक्त प्रमाण—पत्रमा भएको नाम भर्ना नभएको खुलाएर पठाउन पत्रचार गरेको थियो । कलेजले उमा पुरी नाम गरेको व्यक्ति सुनसरी टेक्नीकल कलेजमा भर्ना नभएको बताएको थियो । त्यसपछि उनले बनाएको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।

नक्कली प्रमाणपत्र बनाएकी पुरीले नेपाल फार्मेसी काउन्सिलले लिएको परीक्षा पनि दिएको पाइएको छ । उनले वि.सं. २०७५ सालमा परीक्षा दिएको भएपनि उनी फेल भएको रेकर्डमा देखिएको छ । औषधि पसल संचालन गर्न फर्मासिस्ट अनिवार्य हुनुपर्ने व्यवस्था रहेको छ । त्यही भएर कमाउ धन्दामा लागेका गिरोह नक्कली डिप्लोमा इन फार्मेसी उत्तीर्ण गरेको प्रमाणपत्र बनाउने सक्रिय छन् ।

नक्कली प्रमाणपत्र दिलाउन भूमिका खेल्ने गिरोहको खोजी गरेर कारवाहीको दायरमा ल्याउन विभागले प्रहरीलाई आग्रह गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ