२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा निःशुल्क हाइड्रोसिलको उपचार, १७८ बिरामी निको भए

कोशीमा निःशुल्क हाइड्रोसिलको उपचार, १७८ बिरामी निको भए


विराटनगर – विराटनगरस्थित कोशी अस्पतालमा हाइड्रोसिलको सफल उपचार हुने गरेको छ । कोशीमा हाइड्रोसिलको उपचार निःशुल्क सुरू गरेपछि लक्ष्यभन्दा बढी बिरामीको उपचार हुने गरेको हो ।

चालु आर्थिक वर्षमा ६० जना हाइड्रोसिलको उपचार गर्ने अस्पतालले लक्ष्य लिएको थियो । तर, ११ महिनामा लक्ष्य भन्दा ११ जना बढी हाइड्रोसिलका बिरामीको उपचार गरेको कोशी अस्पतालका जेनरल सर्जन डा. छितिज गिरीले जानकारी दिए । चालु आर्थिक वर्षको जेठ ४ गतेसम्म ७६ जनाको हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार कोशीमा गरेको उनले बताए ।

‘हाइड्रोसिलका बिरामीको संख्या बढदै गएको छ,’ डा. गिरीले भने, ‘मोरङको पूर्वीदक्षिण क्षेत्रमा हाइड्रोसिलका बिरामी बढी देखिएको छ ।’ अहिले पनि हाइड्रोसिलको उपचार कोशी अस्पतालमा निःशुल्क हुने गरेको बिरामीले जानकारी नपाएको अवस्था रहेको उनले सुनाए ।

‘अहिले पनि कतिपयलाई कोशी अस्पतालमा हाइड्रोसिलको उपचार निःशुल्क हुन्छ भन्ने जानकारी नहुँदा आर्थिक अवस्था नाजुक भएका परिवार उपचारबाट वन्चित भएको अवस्था रहेछ,’ उनले भने, ‘कोशी अस्पतालमा हाइड्रोसिलका बिरामी आए यहाँ सम्पूर्ण उपचार खर्च निःशुल्क हुने गरेको छ ।’ शल्यक्रियादेखि बिरामी डिस्चार्जभएसम्म आवश्यक पर्ने औषधी पनि निःशुल्क रहने उनले बताए । चार वर्षदेखि कोशी अस्पतालमा हाइड्रोसिलको उपचार निःशुल्क सुरु भएको छ ।

अहिलेसम्म १७८ जनाको निःशुल्क हाइड्रोसिलको उपचार गरेको अस्पतालले जनाएको छ । हाइड्रोसिलका बिरामी मोरङको रंगेली, आमतोला, डाइनियालगायतका क्षेत्रमा बढी रहेका छन् । ‘यहाँका मानिसले हाइड्रोसिल लुकाएर बस्ने गरेको पनि पाइयो,’ डा. गिरीले भने, ‘हामीले डाइनियामा शिविर संचालन गर्दा ६५ जना हाइड्रोसिलका बिरामी फेला पारेका थियौं । उनीहरुलाई स्वास्थ्य सचेतना गराएपछि रंगेली अस्पतालमा ल्याएर निःशुल्क उपचार गरेका थियौं ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ