२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोभिड अस्पताल स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण

कोभिड अस्पताल स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण


विराटनगर – प्रदेश १ सरकारले विराटनगरमा रहेको  कोशी कोभिड-१९ उपचार केन्द्रलाई स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरि संचालनमा ल्याएको छ । कोभिड-१९ का बिरामी आउन छोडेपछि प्रदेश सरकारले तत्कालीन कोशी कोभिड उपचार केन्द्रलाई स्वास्थ्य सेवा केन्द्रमा रुपान्तरण गरि बुधबारदेखि संचालनमा ल्याएको हो ।

कोभिड अस्पताललाई सरूवा रोग अस्पताल बनाउनको लागि कार्यदल गठन गर्न तयारी गरिएको थियो । तर, प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको जोडबलको कारण कोभिड उपचार केन्द्रलाई स्वास्थ्य सेवा केन्द्र संचालन गर्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार स्वास्थ्य सेवा केन्द्र नाम बनाएर प्रदेश १ का स्वास्थ्य मन्त्री यादवले उक्त स्वास्थ्य उपचार केन्द्र बुधबार उदघाटन गरेका हुन् ।

विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन उद्देश्यले निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । विराटनगर–१० स्थित पाँच बिघा क्षेत्रफलमा अवस्थित साविकको कोशी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा सञ्चालनमा ल्याइएको उक्त केन्द्रमा बहिरङ्ग सेवा, औषधी, प्रयोगशाला, एक्स-रेलगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने जनाइएको छ ।

मन्त्री यादवले अस्पतालको उदघाटन गर्दै प्रदेशका नागरिकलाई सवल र सहजरुपमा स्वास्थ्य सेवामा पहुँच पु¥याउन केन्द्र सञ्चालनमा ल्याइएको बताए । उनले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको बताउँदै कोभिडका कारण स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरण व्यस्थापनमा प्रगति भएको बताए । उनले भने, ‘अब यसको सही र उचित प्रयोग गर्नुपर्छ ।’

मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिँदै केन्द्रमा स्वास्थ्यमैत्री वातावरण बनाउन सबैले आफ्नो क्षेत्रबाट जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव अनोज भट्टचनले केन्द्रमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताए । उनका अनुसार अहिले स्वास्थ्य उपचार केन्द्रमा मेडिकल अफिसरको नेतृत्वमा स्वास्थ्यकर्मी रहेका छन्। उपचार केन्द्रमा जेनेरल सेवाहरू सुरु हुनेछ ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलब्ध  गराउने प्रतिबद्धता व्यक्त गरे । केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्सक, १८ स्टाफनर्सलगायत ५४ कर्मचारी कार्यरत रहेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ