२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘विराट हेल्थ कलेज’को बदमासी : विद्यार्थीसँग मनलाग्दी रकम असुली

‘विराट हेल्थ कलेज’को बदमासी : विद्यार्थीसँग मनलाग्दी रकम असुली

विद्यार्थी संगठनको दबावपछि अतिरिक्त शुल्क लिने नियम हटायो, लिएको पैसा फिर्ता


विराटनगर–विराटनगर–३ खारेजीमा रहेको विराट हेल्थ कलेजले विद्यार्थीहरूसँग मनलाग्दी रूपमा रकम असुली गर्ने गरेको पाइएको छ । अतिरिक्त शुल्क भन्दै पिसिएल नर्सिङको १३ औं ब्याचका विद्यार्थीहरूसँग मनलाग्दी रूपमा रकम असुली गर्ने गरेको भेटिएको हो ।

तीन वर्षको कोर्ष हुने पिसिएल नर्सिङ अध्ययन गरेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले ४ लाख ७५ हजार रुपैयाँ तोकिदिएको छ । सिटीभिटीले तोकेको बाहेक कलेजले अन्य कुनै शुल्क लिन नपाउने प्रष्ट रूपमा भनेको छ ।

तर, कमाउ धन्दामा लागेको विराट हेल्थ कलेजले अतिरिक्त शुल्क भन्दै क्यारेक्टर सर्टिफिकेटको नाममा विद्यार्थीहरूबाट ६ हजार रुपैयाँ लिने गरेको प्रमाण फेला परेको छ । क्यारेक्टर सर्टिफिकेट झिकेको कलेजले प्रतिव्यक्ति ७ हजार ५ सय रुपैयाँ तोकेको थियो । कोभिडको कारण भन्दै कलेजले १५ सय रुपैयाँ छुट गरेपछि ६ हजार रुपैयाँ शुल्क बुझाएपछि मात्र विद्यार्थीहरूले क्यारेक्टर सर्टिफिकेट पाउने नियम बनाएको पाइएको हो ।

‘एकमुस्ट ४ लाख ७५ हजार रूपैयाँ बुझाएपछि पनि अतिरिक्त शुल्क भन्दै कलेजले हामीसँग सर्टिफिकेट झिकेको ६ हजार रुपैयाँ लिएको छ,’ कलेजमा अध्ययनरत एक विद्यार्थीले भने, ‘६ हजार रुपैयाँ नबुझाएसम्म कलेजले क्यारेक्टर सर्टिफिकेट दिएन । पैसा तिरेपछि मात्र कलेज प्रशासनले मेरो क्यारेक्टर सर्टिफिकेट दिएको थियो ।’

तोकिएको भन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको पाइएपछि विद्यार्थीले विद्यार्थी संगठन गुहारेका थिए । विद्यार्थीबाट लिएको रकम फिर्ता हुनुपर्ने अडान राख्दै अभिभावक र विद्यार्थीसहित प्रशासनसँग छलफल गर्दा १५ प्रतिशत अतिरिक्त शुल्क लिएको, सर्टिफिकेटको नाममा पनि रकम लिएको पाइएको अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरेले जानकारी दिए ।

‘सिटिईभिटीको निर्देशन अनुसार कोरोनाको समयमा भएको पढाइ अवधिमा दिनुपर्ने १५ प्रतिशत छुटको विषयमा विवाद भएको थियो’, उनले भने, ‘कलेजले विद्यार्थीलाई १५ प्रतिशत छुट वापत दिने भनेको १५ सय कटाएर थप ६ हजार क्यारेक्टर सर्टिफिकेटको नाममा लिएको पाइयो ।’ मनपरी रकम असुलेको पाइएपछि विद्यार्थीले क्याम्पस प्रशासनलाई बढी लिएको रकम फिर्ता गर्न दबाब दिएका थिए ।

क्याम्पसका लेखा प्रमुख रामेश्वर कामतले विद्यार्थीहरुबाट अतिरिक्त रकम लिएको स्वीकार गरेका छन् । विद्यार्थीले आन्दोलन गर्न थालेपछि लिएको रकम क्याम्पसले फिर्ता गर्ने सहमति गरेसँगै उनले अतिरिक्त रकम लिएको स्वीकार गरेको देखिन्छ । सहमति पत्रमा हस्ताक्षर गर्दै कामतले बिना शुल्क विद्यार्थीलाई क्यारेक्टर सर्टिफिकेट उपलब्ध गराउने, कोेरोनाको समय अवधिमा भएको अनलाइन क्लास बापतको १५ प्रतिशत छुट क्याम्पस प्रमुखसँग छलफल गरेर फिर्ता गर्ने पनि सहमति भएको छ ।

हालसम्म विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क सबै फिर्ता गर्न क्याम्पसको तर्फबाट लेखा प्रमुख कामत, अभिभावकको तर्फबाट कमल रेग्मी र अनेरास्ववियुका तर्फबाट जिल्ला अध्यक्ष तुलसी घिमिरेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । क्याम्पसमा भएको सहमतिपछि १५ जना विद्यार्थीले निःशुल्क क्यारेक्टर सर्टिफिकेट निकालेर लगेका छन् ।

सिटीईभिटीले २०७८ पुस १ गते एक सूचना जारी गर्दै कोभिड–१९ को कारण वैकल्पिक माध्यमबाट पठनपाठन भएको अवधिमा कम्तिमा १५ प्रतिशत प्रशिक्षण शुल्क छुट दिने निर्णय भएकोमा विभिन्न शिक्षण संस्थाले छुट नदिएको भन्दै तत्काल छुट कार्यान्वयन गर्न भनेको थियो । त्यो कार्यान्वयन नगरेको भन्दै त्यसमा पनि विद्यार्थीले छुट दिनु पर्ने माग राख्दै आएका थिए । विराट हेल्थ कलेजको पिसिएल नर्सिङको १३ औं व्याचमा ३९ जना विद्यार्थी अध्ययरत छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ