२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पहाडी जिल्लामा बिरामीको भिड, निःशुल्क उपचार पाएपछि बिरामी दंग

पहाडी जिल्लामा बिरामीको भिड, निःशुल्क उपचार पाएपछि बिरामी दंग


विराटनगर—संखुवासभाका धर्मादेवी नगरपालिका–३ मुढे शनिश्चरेमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर बिरामीको उल्लेखनीय भिड देखिएको छ । शनिबार न्यूरो अस्पतालको प्राविधिक सहयोग र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्थानीय सिंहेश्वरी मावि परिसरमा आयोजना गरिएको निःशुल्क शिविरमा बिरामीको भिड लागेको हो ।

न्यूरो अस्पतालबाट गएको विशेषज्ञसहितको चिकित्सकहरूको टोलीले उपचार गरेपछि बिरामीको भिड लागेको थियो । शिविरमा उपचार गर्न २ वर्षदेखि ९० वर्षसम्मका ज्येष्ठ नागरिक गरी ५ सय २० जनाले स्वास्थ्य स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा न्यूरो अस्पतालका बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, अर्थोपेडिक सर्जन डा. अमित देव, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. निशा अधिकारी, न्यू्रो सर्जन डा. आशिषजंग थापा, डा. एमडी सिदिक, देबेश माझी, डा. सुमन पण्डितलगायतका स्वास्थ्यकर्मीहरूले धनकुटा र संखुवासभाका धर्मादेवी नगरपालिका भित्रका स्थानीयले गरी पाँच सय बढीले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा आएका मध्ये सबैभन्दा बढी महिलाको समस्या लिएर बिरामीहरु आएका थिए ।

पाठेघरको समस्या, सेतो पानी बग्ने, तल्लोपेट दुःख्नेलगायतका समस्या लिएर आएको स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. निशा अधिकारीले बताइन् । चिकित्सकका अनुसार ‘आङ खस्ने’ रोग सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी अवस्थामा गाह्रो भारी बोक्ने, राम्रो हेरचार नगर्ने कारणले देखा पर्छ ।

यस्तै, स्वास्थ्य शिविरमा आएको बालबालिकाहरुमा रुघाखोकी, टन्सिल, झाडा बान्ता र पेटदुख्ने समस्या भएको बिरामीको स्वास्थ्य जाँच गरिएको बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साहले जानकारी दिए । शिविरमा हार्डजोर्नी, नशा, छालालगायतका विभिन्न रोगका विरामीहरूले स्वास्थ्य जाँच गरेका थिए ।

उनीहरूलाई आवश्यक पर्ने औषधी पनि निःशुल्क वितरण गरिएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश १ का क्षेत्रीय प्रबन्धक रामनाथ महतोले बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर आफ्नो सदस्य र स्थानीयलाई लक्षित गरेर पहाडी जिल्लाको त्यो पनि विकट क्षेत्रमा बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर गरेको उनले बताए ।

‘छिमेक लघुवित्तले देशका विभिन्न ठाउँहरुमा हामीले यसरी निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘जहाँ विपन्न परिवारले सेवा पाएका हुन्छन् ।’ न्यूरो अस्पतालका निर्देशक ई. रन्जित बस्नेतलले स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेको पहाडी जिल्लाका ग्रामीण बस्तीका स्थानीयलाई लक्षित गरी छिमेक लघुवित्तसँग सहकार्य गरी स्वास्थ्य शिविर गरेको बताए । ‘पहाडी जिल्लाको ग्रामिण बस्तीमा सरकारी अस्पताल नहुनु दुर्भाग्य हो । यहाँका बिरामी प्राइमरी इन्जुरी भए टाढाका अस्पताल लैजानुपर्ने अवस्था रहेको छ । त्यहीलाई महसुस गरी यहाँका स्थानीयलाई स्थानीयस्तरमा सेवा दिन हामीले शिविर गरिएको हो,’ उनले भने, ‘यस्ता स्वास्थ्य शिविर र सचेतना न्यूरो अस्पतालले आगामी दिनहरूमा गर्दै अगाडि बढ्छौं ।’

उपचारपछि बिरामी दंग
स्थानीयस्तरमै विशेषज्ञसहितको चिकित्सकको टोलीबाट उपचार र निःशुल्क औषधी पाएपछि धर्मदेवी नगरपालिका ३ का गोपाल राज पौडेलले यहाँका स्थानीय खुसी भएको बताए । ‘आर्थिक अवस्थाका कारण पहाडी जिल्लाका बिरामी रोग पाल्न बाध्य छन्,’ स्थानीय पौडेलले भने, ‘नगरपालिका रहेको ठाउँ धर्मदेवीमा अहिलेसम्म प्राथमिकता उपचार केन्द्रहरु छैन । यहाँ एउटा स्वास्थ्य चौकी रहेको छ । त्यहाँ चिकित्सक छैन । एक जना नर्स छन् । हामीजस्तो विपन्नले खर्च गर्न सक्ने अवस्था पनि छैन ।’

स्थानीयस्तरमा भरपर्दो उपचार गर्ने अस्पताल नहुँदा यहाँका नागरिकले रोग पाल्नुपर्ने अवस्था रहेको छ । ‘धरान र विराटनगर उपचार गर्न जाँदा ठूलो धनराशी खर्च हुने गरेको छ । कोही विरामी भएर उपचार गर्न अस्पताल लानसक्ने अवस्था छैन,’ उनले भने, ‘त्यही भएर यहाँका स्थानीय यस्तै विभिन्न संघसंस्थाको सहयोगमा हुने स्वास्थ्य शिविरको भर पर्नुपर्ने अवस्था रहेको छ ।’

स्थानीय सरकार, प्रदेश र संघले पहाडी जिल्लामा भरपर्दो स्वास्थ्य उपचारमा ध्यान नदिएको प्रति यहाँका स्थानीयको गुनासो गर्दछन् ।

धर्मादेवी नगरपालिका—३ का वीरबहादुर सार्कीले स्वास्थ्य जाँच गरेपछि खुसी लागेको बताए । पेट पोल्ने र खुट्टा झमझम गर्ने नशाको समस्याबाट ग्रसित भएको वर्षौ भएको थियो । वर्षौदेखिको समस्या रहेको उनी आर्थिक अवस्थामा नाजुक भएको कारणले उपचार नगरि बसेका थिए । विशेषज्ञसहितको चिकित्सकहरु आउँदै गरेको पत्तो पाएपछि उनीहरुपनि स्वास्थ्य शिविरमा आए । न्यूरो अस्पतालका न्यूरो सर्जन डा. आशिष जङ्ग थापाले उनको स्वास्थ्य अवस्थाको जाँच गरेपछि औषधी दिए । ‘चिकित्सकले स्वास्थ्य जाँच गरेपछि औषधी पनि निःशुल्क पाए । यस औषधीले कतिको काम गर्ने हो । त्यो औषधी खाएपछि थाहा हुन्छ होला,’ उनले भने, ‘यसरी आफ्नै गाउँघरमा एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य उपचार पाउँदा हामी एकदमै खुसी भएका छौं ।’

कार्यक्रममा धर्मादेवी नगरपालिका प्रमुख उदयचन्द्र पौडेलले निजी क्षेत्रबाट स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य शिविर गरेर सह्रानीय काम गरेको बताए । कार्यक्रममा धर्मादेवी नगरपालिका ३ का वडाअध्यक्ष श्यामबहादुर पौडेल, उद्योग वािणज्य संघ धर्मदेवी नगरपालिका अध्यक्ष ऋषीकेशव चापागाई, सिंहेश्वरी माविका व्यवस्थापन समितिका अध्यक्ष ख्याम खड्कालगायतले बोलेका थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ