२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको नाम दुरूपयोग, कारवाहीको लागि प्रशासनलाई पत्र

कोशी अस्पतालको नाम दुरूपयोग, कारवाहीको लागि प्रशासनलाई पत्र


विराटनगर – विराटनगरमा च्याउसरी खुलेको निजी क्लिनिकले कोशी अस्पतालको नाम दुरूपयोग गरेको पाइएपछि कारवाहीको लागि स्थानीय प्रशासनलाई पत्रचार गरेको छ । यहाँका निजी क्लिनिकहरूले कोशी अस्पतालमा कार्यरत चिकित्सकको नाम क्लिनिक अगाडी राखेर दुरूपयोग गरेको पाइएपछि कारवाहीको लागि प्रशासनलाई पत्रचार गरेका हुन् ।

अनाधिकृत रूपमा निजी क्लिनिकहरुले अस्पतालमा कार्यरत चिकित्सकहरुको नाम राख्ने क्रम बढेपछि अस्पतालले सूचना जारी गरी कारवाही गर्ने चेतावनी पनि दिएको छ । कोशी अस्पतालको नाम राखेर निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारवाही गरिदिन प्रशासनसँग माग गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले आइतबार जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालयलाई कारवाहीका लागि लिखित रुपमा पत्र पठाएका हुन् । कोशीमा कार्यरत चिकित्सक निजी क्लिनिकमा समेत बिरामीको स्वास्थ्य परीक्षण गर्न आउने जनाउ दिदैं अनाधिकृत रुपमा नाम जोड्ने गरिएको भन्दै त्यस्तो गर्नेलाई कारवाही माग गरिएको छ ।

निजी क्लिनिकका सञ्चालकले बिरामीलाई प्रभावमा पार्न सरकारी अस्पतालमा कार्यरत वरिष्ठ रोग विशेषज्ञ उल्लेख गरेर बोर्ड राख्दै आएका छन् । विराटनगरका अधिकांश निजी क्लिनिक सञ्चालकले कोसी अस्पतालका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने भन्दै बोर्ड राख्ने गरेका छन् ।

यसरी बोर्ड राख्दा राम्रो र विशेषज्ञ चिकित्सक क्लिनिकमै आउने भनेर सेवाग्राहीलाई ठग्ने प्रवृत्ति बढ्दै आएको थियो । ग्रामिण क्षेत्रबाट उपचार गर्न बस चढेर आउने सेवाग्राही विराटनगरमा गाडीबाट ओर्लनसाथ सिटी रिक्सामार्फत निजी क्लिनिकमा पु¥याउने दलाल सक्रिय छन् ।

दलालहरुले निजी क्लिनिकमा कोशी अस्पतालका चिकित्सक आउने भनेर राखिएको बोर्ड देखाउँदै बिरामीलाई जर्बरजस्त त्यहाँ रोक्ने गरेका छन् । दलाले निजी क्लिनीमा विरामी पु¥याएपछि निश्चित रकम पाउने गर्दछन् ।

विराटनगरको शनि मन्दिरमा सबैभन्दा धेरै क्लिनिकका बिचौलिया रहँदै आएका छन् । बिचौलियालाई क्लिनिक सञ्चालकले नै सिटी सफारी किनेर दिएका छन् । ती सिटी सफारीमा अस्पतालसम्म जान चढेका सेवाग्राहीलाई क्लिनिकमा पु¥याउने काम हुने गरेको छ ।

क्लिनिकमा पुग्दा कोसी अस्पतालका चिकित्सकले नै स्वास्थ्य परीक्षण गर्ने भनेर झुक्याउनका लागि चिकित्सकको नाम उल्लेखित बोर्ड राखिएको हुन्छ । अब कोशी अस्पतालले त्यसरी बोर्ड राख्ने क्लिनिक सञ्चालक तथा चिकित्सक समेतलाई कारवाही गरिदिन माग गर्दै स्थानीय प्रशासनसँग पत्राचार गरेको छ ।

कोशीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञराज खरेलले सरकारी अस्पतालको अनाधिकृत रुपमा नाम प्रयोग गरेर सेवाग्राहीलाई झुक्याउने सबै निकायले तत्कालै त्यस्ता बोर्ड हटाउनु पर्ने नत्र कानुनी कारवाही गरिने बताए ।

 


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ