२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फार्मेसीको बदमासीः औषधिको परिमाण बढाएर बिरामी ठग्दै

फार्मेसीको बदमासीः औषधिको परिमाण बढाएर बिरामी ठग्दै


विराटनगर-विराटनगर भित्रका ठूला अस्पताल वरिपरीका फार्मेसीका संचालकको निर्देशनमा बिरामीले खरिद गरेको औषधिमा ठगी हुने गरेको पाइएको छ । विराटनगर– ९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’का संचालकहरूको निर्देशनमा काम गर्ने श्रमिकले औषधिको परिमाण बढाएर बिरामी ठगी गर्ने गरेको पाइएको हो ।

वडा प्रहरी कार्यालय विराटनगर ‘क’ले साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिका १९ वर्षीय सन्तोष मेहतालाई बिरामीलाई दिएको औषधिको परिमाण बढाएर ठगी गरेको आरोपमा आइतबार पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । साक्षी मेडिकल हलका संचालकद्धय सप्तरी घर भई विराटनगर बस्दै आएका चन्द्रशेखर यादव र निरन्जन शाक्यको निर्देशनमा उक्त पसलमा काम गर्नेहरूले बिरामीलाई दिएको औषधिको परिमाण बढाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ठगी आरोपमा कामदार
यादव पक्राउ परेपछि संचालकहरू अहिले फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

बढाएको बिल

‘उधारोमा बिरामीलाई दिएको औषधिको परिमाण बढाएर साक्षी मेडिकल हलले ठगी गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको छ,’ वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी वेदप्रसाद गौतमले भने, ‘आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएका छौं ।’

सवारी दुर्घटनमा परी न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिका नवराज राईका आफन्तले गत भदौ २३ गतेदेखि साक्षी मेडिकल हलबाट उधारोमा औषधि खरिद गर्दै लगेका थिए । ‘एक महिनाभन्दा बढीदेखि ४५ हजार रुपैयाँ जम्मा गरी उधारोमा औषधि खरिद गरेका थियौं,’ विरामीको उपचार गर्दै आएका सवारी धनी काभ्रे पाँचखालका रामगोपाल श्रेष्ठले भने, ‘थप उपचारको लागि काठमाडौं लानुपर्ने भयो । आइतबार हिसाव गर्दा हामीलाई दिएको बिलमा भन्दा पसलमा रहेको रेकर्डमा औषधिको परिमाण अस्वाभिक रूपमा बढी भयो ।’

क्रस चेक गर्दै हिसाब गर्दा साक्षी मेडिकल हलले औषधिको परिमाण बढी देखाएर ठगी गरेको चाल पाएपछि प्रहरीलाई खबर गरेको उनले बताए । सो मेडिकल हलले परिमाण बढाएको औषधि महंगो मुल्यको रहेको बताइएको छ । बिरामीका आफन्तले ३ वटा औषधि खरिद गरेर लैजादा साक्षी मेडिकल हलले राख्ने हिसाबमा ८ वटासम्म राखेको रेकर्ड फेला परेको छ । यसअघि पनि उक्त फार्मेसीले ९ हजारको औषधिमा बिरामीलाई १५ हजार रुपैयाँ तिराएको थियो । पछि हिसाब गर्दै जादा बढी मुल्य लिएको थाहा पाएपछि भुक्किएको भन्दै ६ हजार रुपैयाँ विरामीलाई फिर्ता गरिदिएको थियो ।

यसअघि पनि विराटनगरको केही फार्मेसीले बिरामीले खरिद गरेको औषधिमा ठगी गरेको आरोपमा संचालक पक्राउ परेका थिए । उनीहरूले लागत मुल्यभन्दा तेब्बर मुल्यमा बिरामीलाई औषधि बिक्री गर्दै ठगी गरेको भेटिएको थियो । नियमनकारी निकायबाट बेला बेलामा फार्मेसीहरूमा अनुगमन नहुँदा मनपरी मुल्यमा औषधीको विक्री वितरण गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ