२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश ११६० शैय्याको ‘कोशी कोभिड उपचार केन्द्र’ अब ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’

१६० शैय्याको ‘कोशी कोभिड उपचार केन्द्र’ अब ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’


विराटनगर—प्रदेश १ सरकार मातहतमा रहेको १६० शैय्याको ‘कोशी कोभिड—१९ उपचार केन्द्र’को नाम प्रदेश सरकारले परिवर्तन गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अस्पतालको नाम ‘संक्रामक रोग तथा सघन उपचार केन्द्र’ राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार प्रदेश मातहतमा रहेको अस्पतालको संक्रामक रोग तथा सघन उपचार केन्द्र नाम रहेको बोर्ड राखिएको स्वास्थ्य मन्त्रालय प्रदेश १ का सचिव अनुज भट्टचनले बताए । महामारीको रुपमा फैलिएको कोभिड—१९ संक्रमणको बेला प्रदेश १ सरकारले उक्त अस्पताल संचालनमा ल्याएको थियो ।

अस्पतालको नयाँ नाम संशोधन भएसँगै सरुवा रोग सम्बन्धी उपचार हुने डा. भट्टचनले बताए । ‘यसअघि कोभिड–१९ को मात्र उपचार हुने गरेको थियो,’ उनले भने, ‘अहिले सरुवा रोग सम्बन्धिका उपचार हुने गरेको छ ।’

अहिले डेंगु लागेका बिरामीको पनि उपचार हुने गरेको अस्पतालका संयोजक डा. कुशल वस्तीले जानकारी दिए । अहिले दैनिक अस्पतालमा ओपिडीमा १ सय जना बिरामीले स्वास्थ्य उपचार गर्दै आएका छन् । ‘भर्ना हुने खालका बिरामी अहिलेसम्म आएका छैनन्,’ उनले भने, ‘ओपिडीमा सामान्य लक्षण देखा परेका डेंगुका बिरामीहरू पनि आउने गरेका छन् ।’

अहिले अस्पतालमा कोभिड—१९ का दुई जना बिरामी उपचाररत छन् । यो अस्पतालमा ५९ जनाको अस्थायी दरबन्दी रहेको छ । जसमा मेडिकल अधिकृत र स्टाफ नर्सहरूको दरबन्दी छ । अस्पतालमा २० वटा भेन्टिलेटरसहितका १६० शैय्या रहेको छ । नयाँमा ७० र पुरानोमा ९० शैय्या छ । अस्पतालबाट ४ जना मेडिकल अधिकृत र १२ जना नर्सहरूले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ