२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा डेंगु सार्ने लामखुट्टे र लार्भा नष्ट

विराटनगरमा डेंगु सार्ने लामखुट्टे र लार्भा नष्ट


विराटनगर—विराटनगर महानगरपालिकाले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो ।

बुधबार महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा विराटनगर—८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

विशेषगरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेंगु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो ।

महानगरका मेयर नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । उनका अनुसार हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ ।

यसअघि मंगलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नम्बर १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि संक्रमणसमेत घट्दै गएको अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउनेलगायतका विधि अपनाएमा डेंगुको संक्रमणबाट बच्न सकिने चिकित्सकहरुले बताउँदै आएका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ