२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटमा आधा करोड बढी घोटाला प्रकरणः कुन कर्मचारीले कति गरे घोटाला ? (सूचीसहित)

विराटमा आधा करोड बढी घोटाला प्रकरणः कुन कर्मचारीले कति गरे घोटाला ? (सूचीसहित)

‘१२ बजे राति ११ लाख डिस्काउन्ट गरेको थाहा भएपछि शंका भयो’


विराटनगर—मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको झण्डै एक करोड रूपैयाँ अस्पतालका कर्मचारीले नक्कली बिरामी खडा गरी घोटाला गरेको पाइएको छ ।

हस्पिटलको रिसेप्सन बिलिङ एण्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका—२ का २६ वर्षीय दुर्गाबहादुर बिष्ट र सुनसरी इटहरी—४ का २४ वर्षीय अश्विन भट्टराईको मुख्य योजनामा १० जना कर्मचारीको मिलेमतोमा ५७ लाख ९६ हजार १ सय ६० रुपैयाँ घोटाला भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

मोरङ प्रहरीले विराट हस्पिटलको रकम घोटला गरी ठगी गरेको आरोपमा आठ जना पक्राउ गरेका थिए । पक्राउ परेकामध्ये सबैभन्दा बढी घोटला भट्टराई र विष्टले गरेको खुलेको छ । मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको विवरणअनुसार डिस्चार्ज विभागका इन्चार्ज विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० हजार ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचलन गरेको खुलेको छ ।

यस्तै, अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभुनारायण चौधरीले ३३ हजार ३ सय, सुशील पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, बसन्तकुमार रामले १० हजार र नरनारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएको ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

हस्पिटलको कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै कारवाहीको दायरामा ल्याउन मागसहित ३ कार्तिकमा मोरङ प्रहरीमा उजुरी दिएको थियो । प्रहरीमा उजुरी परेपछि विष्ट र भट्टराईलाई सोही दिन पक्राउ गरेको थियो । अन्य ८ जनाको पनि घोटलामा संलग्नता देखिएपछि पछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रबार उनीहरु विरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको हो ।

मोरङ अदालतमा आइतबार र सोमबार प्रतिवादीहरुको बयान लिन सुरू भएको मोरङ अदालतका सूचना अधिकारी सुवोध आचार्यले जानकारी दिए । प्रतिवादीहरुको अदालतमा बयान सकिएकोले मंगलबार थुनछेक बहस हुने उनले बताए । घोटालामा संग्लन भएकामध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।

बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखेर करिब पाँच करोड हिनामिना गरेको हस्पिटलको दाबी थियो । पछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा ५७ लाख ९६ हजार रुपैयाँ घोटाला भएको तथ्य र प्रमाण प्रहरीले संकलन गरेको छ ।

विष्ट र भट्टराईले १० जना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइटी बनाएर घोटला गरेको प्रहरीले जनाएको छ । अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटी वापतको रकम अनधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।

रकम हिनामिनाका सम्बन्धमा छलफल गर्न अस्पताल सञ्चालक समितिको बैठक गत कात्तिक ३ गते बसेको थियो । बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो । कर्मचारीकै मिलेमतोमा अनियमितता गरिएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए ।

विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोभिड—१९ का बेला सबै मानिसमा त्रासको मौका छोपेर कर्मचारीहरुले बदमासी गर्न सुरु गरेको पाइएको छ । उनीहरुले बिरामीबाट डिपोजिट गरेको पैसा उपचार गरेर बाँकी रहेको वा उपचारमा लागेकै पैसा डिस्काउन्ट भन्दैं नक्कली युजर बनाएर अपचलन गरेका थिए ।

‘१२ बजे राति ११ लाख डिस्काउन्ट गरेको थाहा भएपछि शंका भयो’

-डा. ज्ञानेन्द्रमान सिंह कार्की

कोभिड—१९ को महामारीको समयमा मानिसहरुमा त्रासदी थियो । मरिन्छ, बाँचिन्छ भन्ने ठेगान थिएन । हामी बिरामीको उपचारमा मात्रै तल्लीन थियौं । त्यही मौका पारेर केही बदमास कर्मचारीले सफ्टवेयरको पासवर्ड चोरेछन् ।

आईटीमा परिवर्तन गर्न नसकेपनि नक्कली डिस्काउन्ट बनाएर बिरामीको डिपोजिटको रकम हिनामिना गर्न थालेछन् । १२ बजे राति ११ लाख डिस्काउन्ट गरेको पत्ता लागेपछि शंका उब्जियो । १२ बजे राति ११ लाख रुपैयाँ कसले डिपोजिट गर्छ र डिस्काउन्ट दिन्छ भनेर सोधखोज गर्दा बदमासी भएको थाहा पाएर प्रहरीलाई खबर गरियो ।

अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । हाम्रो एकाउण्ट सिधैं कर कार्यलयमा जोडिएको हुन्छ । यस्ता फटाइ अब हामीसँग मात्र जोडिएन्, करसँग पनि जोडियो । अब अनुसन्धानले सबै कुरा बाहिर ल्याउँछ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ