२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीमा २ अर्ब १७ करोडमा बन्ने ५०० शैय्याको ८ तलाको मेडिकल भवनको शिलान्यास

कोशीमा २ अर्ब १७ करोडमा बन्ने ५०० शैय्याको ८ तलाको मेडिकल भवनको शिलान्यास

तीन वर्षमा सक्ने गरी काम सुरू


विराटनगर—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बन्न लागेको पाँच सय शैय्याको आठ तलाको मेडिकल भवनको शिलान्यास भएको छ । बिहीबार उक्त भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र सहरी विकास मन्त्री मेटमणी चौधरी संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

उक्त भवन २ अर्ब १७ करोड ६६ लाख २० हजार २ सय ८३ रुपैयाँ लागतमा निर्माण हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले मुल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसाँमा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्ट्रक्सन काठमाडौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँमा निर्माण ठेक्का लिएको हो ।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम सुरू गर्ने संघीय आयोजना कार्यान्वयन इकाई विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए । समयमै गुणस्तरीय काम सक्ने गरी दृढ संकल्पको साथ काम गरिनुपर्नेमा उनले जोड दिए ।

कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर संचालनमा आएपछि कोशी अस्पताल एक हजार शैय्याको हुनेछ । अहिले कोशीमा साढे ३ सय शैय्यामा संचालन रहेको छ ।

एक वर्षअघि शिलान्यास भएर निर्माण सुरू भएको पाँच तले भवन निमार्णको काम रोकिएको छ । ठेकेदार कम्पनी रमन भूमि, बि.आई.पि.एल. जेभी सम्पर्कबिहीन भएपछि चार महिनादेखि काम रोकिएको हो ।

पाँच तलाको उक्त भवन ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का दिइएको थियो । उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो ।

कस्तो बन्छ ५ सय शैय्याको मेडिकल भवन ?

आठ तालाको बन्न लागेको कोशी अस्पतला भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो । दुई तलाको अन्डरग्राउण्ड पार्किङ रहनेछ । पहिलो अन्डरग्राउण्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछन् ।

त्यस्तै, पहिलो अन्डरग्राउण्ड पार्किङमा २५ कार ८५ वटा बाइकल र मेडिकल कोठा हुनेछ । ग्राउण्ड फ्लोरमा रजिष्टे«शन, रोडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी र जनरल स्टोर रहनेछ ।

पहिलो तलामा पिआईसीयु, एनआईसीयु र बच्चाको वार्ड रहनेछ । यो वार्डमा ९१ शैय्याको रहनेछ ।

दोस्रो तलामा ९१ शैय्याको अर्थोपेडिक वार्ड हुनेछ भने तेस्रो तलामा ९१ शैय्याको मेडिकल वार्ड रहनेछ । यस्तै, चौथो तलामा १ सय ३ शैय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमा आँखा, नाक, कान, घाँटी, वर्न, डेन्ट्रल र जनरल सर्जरी वार्ड रहनेछन् ।

यसैगरी, पाँचौ तलामा १ सय शैय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमा एसआईसीयु, सिटिभिएस, न्यूरो सर्जरीलगायतका वार्ड रहनेछन् ।

छैठौं तलामा ३० शैय्याको शल्यक्रिया वार्ड रहनेछ । यहाँ ९ वटा मेजर शल्यक्रिया हुनेछ भने अन्य सामान्य शल्यक्रिया पनि यही वार्डमा हुनेछ । यो वार्डमा सिएसएसडी, पोस्टअप वार्ड पनि रहनेछ ।

सातौं र आठौं तलामा सेमिनार र मिटिङ हल रहनेछ । आठ तलाको भवनमा ६ वटा लिफ्ट रहनेछ । डाक्टर र बिरामीको छुट्टाछुट्टै लिफ्ट रहनेछ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ