२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १सरकारी अस्पतालबाट बिरामीलाई गुणस्तरीय र छिटो सेवा प्रवाह गर्नुपर्छ : स्वास्थ्यमन्त्री

सरकारी अस्पतालबाट बिरामीलाई गुणस्तरीय र छिटो सेवा प्रवाह गर्नुपर्छ : स्वास्थ्यमन्त्री


विराटनगर—स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालबाट बिरामीलाई गुणस्तरीय र छिटो—छरितो सेवा प्रवाह गरिनुपर्ने बताएका छन् । बिहीबार कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको शिलान्यास गर्दै स्वास्थ्य मन्त्री खापुङले यस्तो बताएका हुन् ।

‘सरकारी अस्पतालभित्र उपकरणहरु प्रयोग नगरेको कारणले बिरामी बाहिर पठाउने गरेका आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘यसो आरोप आउनु दिनु हुँदैन् । सरकारी अस्पताल राम्रो र गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा चिनाउन सबै लाग्नुपर्छ ।’

मन्त्री खापुङले प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा आउने बिरामी अन्यन्त्र रिफर हुने परिपाटी अन्त्य हुनुपर्ने बताएका छन् । ‘पूर्ण सरकारी स्वामित्वको प्रदेश १ को सबैभन्दा ठूलो सरकारी हस्पिटल हो कोशी । यहाँ प्रदेश १ र २ का बिरामीहरू पनि आउने गरेका छन् । यहाँ आउने विरामीको उपचार यही गरिनुपर्दछ,’ उनले भने, ‘यहाँ उपचार हुने रोगको उपचार गर्ने क्रममा अन्त्य रिफर नहोस् । यही उपचार हुने वातावरण बनाउनुपर्दछ । यहाँ आउने बिरामी अन्त्य जानु नपरोस् । त्यसमा ध्यान दिनुपर्दछ ।’

स्वास्थ्यमन्त्री खापुङले पूर्वाञ्चल विश्वविद्यालय र कोशीलाई मिलाएर मेडिकल कलेज खोल्ने विषयमा पनि छलफल भएको बताए । ‘यस क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधीसहित हामीले मेडिकल कलेजको लागि छलफल गरेका छौं,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधीहरूले पनि चासो देखाउनुभएको छ ।’

कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले कोशी अस्पतालको मेडिकल भवन निर्माणले नेपालको पूर्व क्षेत्रका लागि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने बताए । स्वास्थ्य जस्तो महत्वपूर्ण भवन निर्माण समयमै गुणस्तरीय निर्माण गर्न मन्त्री चौधरीले निर्देशन दिए ।

कार्यक्रममा कोशी अस्पतलाका मेसु डा. लक्ष्मीनारायण यादवले आफू कार्यभार सम्हालेपछि कोशी अस्पताल सुधारमा लागि परेको बताए । ‘कोशी अस्पतालको आईसीयु यसअघि १२ शैय्या मात्र संचालन रहेको थियो । अहिले भेन्टिलेटरसहित २४ शैय्यामा संचालन रहेको छ,’ उनले भने । उनले प्रयोगशालामा थप जाँच पनि सुरु गरेको बताए ।

अस्पतालभित्र एभी फिस्टुला पनि सुरु भएको उनले बताए । चाँडै कोशीमा आउने बिरामीहरुको सहजताको लागि ओपीडी एप बनाउने तयारी सुरु गरिएको उनले बताए । यो एप बनेपछि घरबाटै बिरामीले ओपीडीको टिकट काटने वातावरण हुने उनले बताए । कोशी अस्पतालभित्र चार सय परिवारको लागि आवास गृहको पनि तयारी गरिएको उनले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ