२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपेक्षित १० वटा रोग नियन्त्रणका लागि तीन तहका सरकारबीच समन्वयमा जोड

उपेक्षित १० वटा रोग नियन्त्रणका लागि तीन तहका सरकारबीच समन्वयमा जोड


विराटनगर—उपेक्षित उष्णप्रदेशीय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीन तहको सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने एक कार्यक्रममा सरोकारवाहरूले जोड दिएका छन् । सोमबार प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस, २०७९ को अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

विशेषगरी गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तीपाइले, रेबिज, कालाजार , सर्पदंश, माटोबाट सर्ने जुका, फित्ते जुका, डेंगु र चिकनगुनिया र खस्रे रोगजस्ता १० वटा रोगहरु उपेक्षित रोगमा पर्ने गरेको बताइएको छ ।

स्वास्थ्यमन्त्री निर्मला लिम्बुले १० वटा रोगहरु प्राथमिकतामा नपरेपनि यी रोगहरु गम्भीर किसिमको भएको बताइन् । उनले स्वास्थ्य क्षेत्रका लागि संघमा बजेट भएपनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको गुनासो गरिन् । मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचारसँगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

‘यस्ता रोगहरु नियन्त्रण र रोकथाम गर्न पर्याप्त बजेट नभेकोले चाहेअनुसार काम गर्न अफ्ट्यारो हुने गरेको छ,’ उनले भनिन्, ‘अगामी दिनमा यस्ता रोगहरुको रोकथाम र नियन्त्रणको लागि आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा तीन तहको सरकारले अपनत्व लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यहीअनुसार काम सुक्ष्म तहमा गर्नु पर्दा गाह्रो हुने गरेको बताए । उनले जुन क्षेत्रमा जुन रोग का संक्रमितहरु छन, त्यसलाई मध्यनजर गर्दै प्रभावित क्षेत्र औषधी सेवनसँगै जनचेजना फैलाउने काम गर्ने गरेको बताए । सरकारले विभिन्न रोगहरुको लागि बजेट छुटयाए पनि उक्त बजेट पर्याप्त नभएको उनको गुनासो थियो ।

प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न ३ तहको सरकारबीच एकीकृत सहकार्यको आवश्यकता रहेको बतए । उनले स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसमा प्रभावकारी काम गर्न तीन तहका सरकारको समन्वयसँगै पर्याप्त बजेट आवश्यक रहेको बताए ।

प्रदेश पत्रकार महासंघ प्रदेश १ को अध्यक्ष लिलाबल्लभ घिमिरेले १० वटा रोग ओझेलमा परेको कुरा आइरहँदा राज्य स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको बताए । सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य पर्न नसकेको बताउँदैं उनले सरकारले पत्रकारलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउन अहिले पनि अगाडि नसरेको बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ