२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पाँच महिनामै कोशी अस्पतालका मेसु फेरिए

पाँच महिनामै कोशी अस्पतालका मेसु फेरिए


विराटनगर—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पाँच महिना पनि पूरा नहुँदै परिवर्तन भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै कोशीको निमित्त मेसुमा डा. रविराज सिंहलाई नियुक्त गरेका हुन् ।

१० औं तहका सर्जन डा. सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।

यसअघि अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसु थिए । उनी १६ भदौंमा कोशी अस्पतालको निमित्त मेसुमा नियुक्त भएका थिए । डा. सिंह निमित्त मेसु बनेसँगै यसअघिका मेसु डा. यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन् । उनी वरिष्ठ फिजिसियन डाक्टर हुन् ।

स्वास्थ्यमन्त्री पदम गिरीले एमालेका स्थानीय नेताहरूको दबाबको कारणले जुनियर डाक्टरलाई मेसुमा नियुक्त आरोप अस्पतालकै केही चिकित्सकहरुले लगाएका छन् । कोशी अस्पतालमा ११ औँ तहको दरबन्दी छ । कोशी अस्पतालमा अहिले दुई जना ११ औँ तहका चिकित्सकहरू रहेका छन् ।

डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औ तहका चिकित्सक हुन् । ११ औंं तहको डाक्टर अस्पतालभित्रै हुँदाहुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पतालका केही चिकित्सक असन्तुष्ट बनेका छन् ।

साढे ३ सय शैय्याको कोशी अस्पतालमा दैनिक ओपीडीमा १ हजारदेखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्दछन् । यहाँ एक दर्जन बढी विभाग रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ