२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको बेलवारीमा १५ शैय्याको प्रदेश प्रहरी अस्पताल संचालनमा

मोरङको बेलवारीमा १५ शैय्याको प्रदेश प्रहरी अस्पताल संचालनमा

तीन जना विशेषज्ञ चिकित्सकसहित १० जनाको प्राविधिक टोलीले सेवा प्रदान गर्ने


विराटनगर—मोरङको बेलवारी नगरपालिका–३ मा १ नम्बर प्रदेश प्रहरी अस्पताल संचालनमा आएको छ । बुधबार एक कार्यक्रम आयोजना गरी १५ शैय्याको यो अस्पताल संचालनमा ल्याइएको जानकारी दिइएको हो ।

पूरानो इलाका प्रहरी कार्यालयको भवनमा संचालित प्रदेश प्रहरी अस्पतालको एक विशेष कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले विधिवत रुपमा समुद्घाटन गरे । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुँदै गरेको र प्रदेशभरिका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दैं प्रदेश प्रहरी अस्पतालको स्थापना गरी समुद्घाटन गरिएको हो ।

भवन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले १ नम्बर प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवारसमेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उद्देश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याइएको बताए । यसका साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीहरुले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राविधिक प्रहरी कर्मचारूहरूलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले नगरवासीहरु उत्साहित रहेको बताए । हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम भूमिका रहने बताउँदैं उनले अस्पतालको स्तरोन्नतीलगायत हरेक क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंकी मेडिकल निर्देशक डा. आशा सिंहले सिमित स्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताइन् ।

उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले स्वागत मन्तब्य राख्दै प्रहरी कर्मचारीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखे अस्पताल निर्माण कार्यमा सहयोग पु¥याउने सबैमा हार्दिक आभार प्रकट गरे । प्रहरी अस्पतालबाट तल्लो तहका प्रहरी कर्मचारीहरु सेवाबाट प्रत्यक्ष लाभान्वित भई अहोरात्र सेवामा समर्पित हुने र आश्रित परिवार तथा पूर्व प्रहरी कर्मचारीहरुलाई समेत स्वास्थ्य सेवा प्रदान हुने उनले बताए । अस्पतालको सेवा अझ प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको ज्ञवालीले बताए ।

कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गरे । प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना विशेषज्ञ चिकित्सकसहित १० जनाको प्राविधिक टोलीले ओपीडी तथा इमर्जेन्सीलगायतका सेवा प्रदान गर्नेछ । सेवा विस्तारको क्रममा अन्य सेवाहरु समेत क्रमसः थप हुँदै जाने प्रहरी नायव उपरिक्षक डा. सरोज सिंहले बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न स्थानीय निकायका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा स्थानियवासीहरु उपस्थिति रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ