२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, शैय्यामा छटपटिदैं बिरामी

कोशीको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, शैय्यामा छटपटिदैं बिरामी


विराटनगर-सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी अस्पताल लिएर आए ।

खुट्टा भाँचिएको कारणले शल्यक्रिया गरिनुपर्ने भएपछि उनलाई अर्थोपेडिक वार्डमा भर्ना गरियो । कोशी अस्पतालमा हप्ताको चार दिन हाडजोर्नीको शल्यक्रिया हुन्छ–आइतबार, सोमबार, बुधबार र बिहीबार । शुक्रबार अस्पताल आएका कारणले गेलालको खुट्टाको शल्यक्रियाका लागि चिकित्सकले बिहीबारको समय दिए ।

वृद्धा गेलाल खुट्टा दुखाइको पीडा सहेर चिकित्सकले दिएको समयसम्म कोशीमा बस्ने निधो गरिन् । बिहीबार उनको शल्यक्रियाको समय थियो । खुट्टाको अप्रेसनपछि दुखाइको पीडा कम हुने भएकोले राहत महसुस हुने आशा उनले राखेकी थिइन् । तर, उनको अपेक्षा निराशामा परिणत भयो ।

अस्पतालको अर्थोपेडिक वार्डमा जाने पानीको पाइपमा लेदो जमेर बुधबार २ बजेपछि पानी नभएपछि बिहीबार हुने भनिएका सात वटा शल्यक्रिया रोकिएका छन् । जसले गर्दा गेलालसहित अन्य ६ जना शल्यक्रिया गरिनुपर्ने बिरामी अस्पतालको शैय्यामा छटपटिइरहेका छन् ।

यसरी अस्पतालको शैय्यामा छटपटिने मध्येका अर्की बिरामी हुन्, चन्द्रमाया राई । सप्तरीको रुपनगर घर भएकी ६० वर्षीया राईको पनि लडेर देब्रे खुट्टा भाँचिएको बिहीबार पाँच दिन भयो । आर्थिक अवस्था नाजुक रहेकी राईको उपचारका लागि छोरी परिस्का राईले सस्तोमा उपचार हुने भएकोले कोशी अस्पताल लिएकी आएकी थिइन् ।

‘आमाको उपचारमा ऋण खोजेर ल्याएको पैसा पनि सकियो । तर, अहिलेसम्म आमाको खुट्टाको शल्यक्रिया हुन सकेको छैन,’ छोरी परिस्काले गहभरी आँसु पार्दै मेसुको कार्यकक्षमा भनिन्, ‘हस्पिटल बसेको पाँच दिन भइसक्यो । बिहीबार अप्रेसन हुने भनेर ३० हजार रुपैयाँमा स्टील किने । अप्रेसनको लागि १० हजार रुपैयाँ डिपोजिट पनि गरेको छु । तर, अहिलेसम्म आमाको खुट्टाको अप्रेशन हुन सकेको छैन ।’

बिहीबार हुने भनेको शल्यक्रिया पनि पानी नभएको भन्दै हुन नसकेको उनले बताइन् । ‘हामीजस्तो गरिबका लागि आशा र भरोसा योग्य अस्पताल भन्दै आएका थियौं । तर, हाडजोर्नी विभागमा जाने पानीको पाइप बिग्रिएको एक दिन भइसक्यो । अहिलेसम्म नबनेको कारणले अप्रेसन हुन नसकेको भन्दैछन्,’ उनले भनिन् ।

चिकित्सकले शल्यक्रियामा प्रयोग गर्ने सामग्रीदेखि बिरामीलाई प्रयोग गरिने स्टिलका सामग्री पानीमा उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । पानी आपूर्ति गर्ने मुख्य पाइपलाइनमा समस्या भएपछि ‘वाटर प्यूरिफाई प्लान्ट’ समेत बन्द भएको छ ।

अस्पतालको हाडजोर्नी तथा नसा रोग विभागका प्रमुख डा. महेन्द्रप्रसाद महतोले शल्यक्रिया गर्नका लागि औजारहरू पानीमा पकाउनको लागि ‘अटोक्लेभ’सम्म पानी नभएको कारणले अप्रेसन रोकिएको बताए । ‘अप्रेसन थियटरमा शल्यक्रियाका लागि पानी आवश्यक पर्दछ । त्यसभन्दा पनि शल्यक्रिया गर्ने उपकरणहरु दुई घण्टासम्म अटोक्लेभमा राखेर उमाल्नुपर्छ । त्यसपछि औजारको प्रयोग गर्नुपछ,’ डा. महतोले भने, ‘हामी चिकित्सक शल्यक्रिया गर्न तयारी अवस्थामा रहेका थियौं ।’ प्राविधिक समस्याको कारणले गर्दा अर्थोपेडिक विभागसम्म आउने पानीको पाइपमा समस्या देखिएको उनले बताए ।

अस्पतालमा रहेका दुई जना पलम्बर लगाएर बिहीबारसम्म अर्थोपेडिकमा देखिएको पाइपको समस्या सावधान गरेर शल्यक्रिया गरिनुपर्ने बिरामी उपचार हुने कोशी अस्पतालका निमिक्त मेसु डा. रविराज सिंहले बताए । ‘प्यूरिफाई वाटर’मा दुई घण्टासम्म सामान उमालेर मात्रै शल्यक्रिया गर्ने वा बिरामीलाई लगाउनुपर्ने स्टिल निःसंक्रमित गराउनुपर्ने हुन्छ’, मेसु सिंहले भने, ‘हाडजोर्नी विभागको पानी आपूर्तिमा समस्या भएपछि त्यो सम्भव नहुँदा अप्रेशन कक्ष बन्द भएको हो ।’

उनले बिहीवारलाई अप्रेशन गर्ने तालिकामा रहेका बिरामीको शल्यक्रिया शुक्रबार गरिने जानकारी दिए । शुक्रबार अप्रेशन तालिका नभएपनि बिहीबार शल्यक्रिया हुन नसकेपछि यो पटक शुक्रबार पनि अप्रेशन गरिने र त्यसैअनुसार तालिका राखिएको मेसु सिंहले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ