२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने

कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने


विराटनगर—पूर्वी नेपालकै सबैभन्दा ठूलो कोशी अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँगको सहकार्यमा कोशीले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी अगाडि बढाएको हो ।

२८ चैतमा अस्पतालले प्रत्यारोपण केन्द्रसँग मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने सम्बन्धि सम्झौता समेत गरिसकेको छ । सम्झौताअनुसार कोशी अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्य सुरु गर्ने र त्यसका लागि प्रक्रिया अगाडि बढाउने उल्लेख छ ।

साथै, कोशी प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा डायलाइसिस विस्तार गर्न सहयोग गर्ने, मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस सेवाका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्ति तालिम, फेलोसीपलगायतका शैक्षिक कार्यक्रमका लागि व्यवस्था गर्ने उल्लेख छ ।

दुवै संस्थाहरुबीच मस्तिष्क मृत्युपछि हुने अंगदान र प्रत्यारोपणलगायतका कार्यहरु प्रभावकारी बनाउन सहकार्य गर्ने पनि सम्झौतामा उल्लेख छ । सम्झौतामा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र कोशी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले हस्ताक्षर गरेका छन् ।

केन्द्रको पहलमा यसअघि गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र कर्णली प्रदेशको प्रदेश अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भइसकेको छ । सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्नको लागि केन्द्रले सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल पनि प्रत्याारोपण सेवा स्ुरु गर्ने सहमति गरिसकेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ