२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालको ३३० जनरल शैय्या अब निःशुल्क

कोशी अस्पतालको ३३० जनरल शैय्या अब निःशुल्क

बुधबार काठमाडौंका थप चार अस्पताल पनि शैय्या निःशुल्क गरिदैं


विराटनगर—पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा जनरल शैय्या मंगलबारदेखि निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संघीय सरकार मातहत रहेको कोशी अस्पतलाको ३३० शैय्या सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय भएको बताएका हुन् ।

मंगलबार कोशी अस्पतालको निरीक्षण गरेपछि संवाददाताहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले कोशी अस्पतालले गरिबका लागि भन्दै जनरल वेड निःशुल्क गरिएको बताए । यसअघि प्रति शैय्या १०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि बिरामीले शैय्याका लागि पैसा तिर्नु नपर्ने मन्त्री बस्नेतले बताए । यसअघि वीर अस्पतालको ७ सय शैय्या निःशुल्क गर्ने निर्णय भएको छ ।

यसरी क्रमसः संघीय मातहतको अस्पतालको जनरल बेड निःशुल्क गरिने मन्त्री बस्नेतलले बताए । ‘यसअघि मैले वीर अस्पतालको ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु, लागु पनि भएको छ । कोशी अस्पतालको पनि जनरल वेड निःशुल्क भएको छ,’ मन्त्री बस्नेतले भने, ‘यहाँ पनि मंगलबारदेखि लागु हुनेछ ।’

शैय्या निःशुल्क गर्दा अस्पताललाई आम्दानी रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए । मन्त्रीले निर्देशन दिएपछि जनरल शैय्यामा भर्ना भएका बिरामीको मंगलबारदेखि जनरल शैय्या निःशुल्क गरिएको कोशी अस्पतालका मेसु डा. रविराज सिंहले जानकारी दिए ।

‘कोशी अस्पताल गरिब र विपन्न वर्गका लागि भरोसाको केन्द्र हो । एक सय रुपैयाँ तिर्नका लागि उनीहरुलाई सहज हुँदैन,’ मेसु सिंहले भने, ‘अन्य सेवा विस्तार गरेर भए पनि जनरल शैय्या निःशुल्क गर्ने निर्णय भएको हो ।’
जनरल बेड निःशुल्क भएपनि आईसीयु र क्यानको शुल्क भने लाग्नेछ ।

कोशी अस्पताल ३५० शैय्याको अस्पताल हो । कोशीमा दैनिक ओपीडीमा १ हजारदेखि १ हजार पाँच सय जना बिरामी आउने गरेका छन् । काठमाडौं बाहिर वीर अस्पतालपछि कोशी अस्पतालको जनरल शैय्या निःशुल्क गर्ने दोस्रो हस्पिटल हो । कोशीपछि मेची प्रादेशिक अस्पताल निरीक्षण गर्न मन्त्री बस्नेत गएका छन् । मेची प्रादेशिक अस्पतालको जनरल शैय्या निःशुल्क गरिने तयारी गरिएको छ ।

बुधबार चार काठमाडौंका चार अस्पतालको पनि जनरल शैय्या निःशुल्क गरिने तयारी गरिएको मन्त्री बस्नेतले बताए । गंगालाल हृदय रोग केन्द्र, सरुवा रोग केन्द्र, प्रसुती गृह, कान्ति बाल अस्पतालको पनि जनरल शैय्या निःशुल्क गरिने मन्त्री बस्नेतले जानकारी दिए । ‘त्यसको लागि बुधबार विहान ९ बजे बैठक बस्ने भएको छ । त्यसपछि निर्णय गरेर यी अस्पतालको पनि निःशुल्क जनरल वेड घोषणा गरिनेछ,’ उनले भने ।

अस्पतालको गरिव विभिन्न र असहायका बिरामी र नेपालले गरेको संविधानलाई ध्यानमा राखेर निःशुल्क गरिएको उनले बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ