२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ४ महिनामै फेरिए मेसु, ३ वर्षमा ७ जना मेसु फेरिए

कोशी अस्पतालमा ४ महिनामै फेरिए मेसु, ३ वर्षमा ७ जना मेसु फेरिए


विराटनगर-पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रविराज सिंह चार महिनामै परिवर्तन भएका छन् । उनका ठाउँमा कोशी अस्पतालका छाला रोग विशेषज्ञ डा. चन्द्रभाल झालाई नयाँ मेसु नियुक्त गरिएको हो ।

डा. झा भर्खरै बढुवा भएका ११ औं तहका चिकित्सक हुन् । उनी कोशी अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् । डा. सिंहले भने गत फागुन २ बाट कोशीको निमित्त मेसु भएर कार्यभार सम्हाल्दै आएका थिए ।

संघीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री नयाँ आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने कोशीको पुरानै रोग रहेको छ । स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा कांग्रेसका मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् ।

स्वास्थ्यमन्त्रीमा बहाल भएपछि मन्त्री बस्नेतले स्थानीय नेताहरूको दबाबमा अस्पतालका सर्जन डा. सिंहलाई चार महिनामै हटाएर नयाँ मेसुमा डा. झालाई नियुक्त गरेका हुन् । आइतबार मन्त्रीस्तरीय निर्णायले डा. झालाई मेसुमा नियुक्त गरेका हुन् । उनले मंगलबार कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

कोशी अस्पतालमा मेसुको ११ औं तहको दरबन्दी छ । मेसुमा नियुक्ति भएका झा ११ औं तहकै चिकित्सक हुन् । कोशीमा ११ औं तहका डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी मात्र रहेका छन् ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री परिवर्तन भएसँगै छोटो अवधीमा मेसु परिवर्तन हुँदा हस्पिटलको काम कारवाहीमा समस्या हुने गरेको हस्पिटलका कर्मचारी बताउँछन् । ‘नयाँ आएका मेसुले हस्पिटल प्रशासन र सेवाहरुको बारेमा बुझन २÷३ महिना लाग्छ । सेवा प्रवाह सुधार गरी लैजाने तयारी गर्दागर्दै बुझेका मेसु र विकास समितिबीच तालमेत नहुँदा राजनैतिक दबाबको कारणले परिवर्तन हुने गरेको छ । यसरी छिटोछिटो मेसु फेरी अस्पतालको सेवा प्रवाहमा समस्या हुने गर्दछ,’ अस्पताल प्रशासनका कर्मचारी बताउँछन् ।’

अस्पतालमा राजनीतिक दलहरूले आफ्ना मान्छेहरू भर्ना गर्ने र दक्ष जनशक्ति भर्ना नगर्दा अस्पतालको सेवा प्रवाहमा समस्या रहेको छ । अस्पतालमा फेरिरहने मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका बीचमा समन्वय नहुँदा समेत अस्पतालमा अर्को समस्या उत्पन्न हुने गरेको छ ।

अस्पताल विकास समितिका सदस्य देवा यादवले चाँडै मेसु परिवर्तन हुँदा अस्पतालको सेवा प्रभाहमा समस्या सिर्जना हुने गरेको बताए । ‘एउटा अस्पताल विकास समिति छ अर्को नियुक्ति गरेर सरकार नै पठाउँछ । राम्रोसँगले काम गर्नै पाउँदैन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट फेरिदिन्छ र कर्मचारी नियुक्तिमा लाग्छ अनि कसरी अस्पताल सुधार हुन्छ र ?,’ उनी भन्छन् ।

तीन वर्षमा ७ जना मेसु फेरिए

अस्पतालमा ०७६ सालयता मात्रै ७ जना मेसु परिवर्तन भएका छन् । ०७६ सालअघि अस्पतालको मेसु हालका स्वास्थ्य सचिव डा. रोशन पोखरेल थिए । उनलाई २०७६ भदौ १ गते स्वास्थ्य मन्त्रालयमा सरुवा गरेसँगै तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. गुणराज लोहनीलाई मेसुमा नियुक्त गरेका थिए ।

लोहनी ०७६ भदौ १ गतेदेखि ४ महिना पुरा नभई पुनः अर्को मेसु नियुक्त गरिएको थियो । मन्त्री यादवले नै डा. संगीता कौशल मिश्रालाई २०७६ पुस २५ गते मेसुमा नियुक्त गरे । स्वास्थ्य मन्त्रीबाट यादव हटेर स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल आएसँगै मिश्राले पनि पाँच महिना मात्रै मेसु चलाइन् । ढकालले मिश्रालाई हटाउँदै डा. चुमनलाल दासलाई २०७७ असार १ गतेदेखि मेसु पदमा जिम्मेवारी दिए । डा. दास भने झन्डै २० महिना मेसुको भूमिकामा रहेका थिए ।

यस्तै, २०७८ फागुन ५ गते पुनः स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. यज्ञराज खरेल मेसुमा नियुक्त भए । डा. खरेलले ६ महिना काम गर्दा नगर्दा खतिवडाको पद धरापमा प¥यो । खतिवडाको ठाउँमा स्वास्थ्यमन्त्रीमा भवानी खापुङ नियुक्त भए । उनै खापुङले डा. लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए । त्यसपछि डा. खरेल २०७९ भदौ १५ गतेदेखि अस्पतालको पुरानै जिम्मेवारीमा फर्किए ।

२०७९ भदौ १६ गते डा. यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । डा. यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताको दबाबले उनको जिम्मेवारी खोस्यो । मन्त्रालयले २०७९ फागुन २ निमित्त मेसुको जिम्मेवारी डा. रविनराज सिंहलाई दिएको थियो । डा. सिंहले जिम्मेवारी सम्हालेको ४ महिनापछि नयाँ मेसुमा डा. झा आएका छन् ।

कोशी अस्पतालमा स्थापनादेखि हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । अस्पतालको रेकर्ड अनुसार कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डा. भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरेको रेकर्ड छ । पछिल्लो समय भने अस्पतालमा हुने राजनीतिकरण र अदृश्य ढंगले हुने चलखेलका कारण अस्पताल प्रमुख १ वर्ष टिक्न पनि मुस्किल देखिएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डा. चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका डा. दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए ।

साढे ३०० शैय्याको कोशी अस्पतालमा दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ