२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर इन्स्टिच्युटबीच सेवा र प्रविधी साटासाट गर्ने सम्झौता

पूर्वाञ्चल क्यान्सर अस्पताल र राजीव गान्धी क्यान्सर इन्स्टिच्युटबीच सेवा र प्रविधी साटासाट गर्ने सम्झौता


दमक—झापास्थित पुर्वाञ्चल क्यान्सर अस्पताल र भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरबीच दुई पक्षीय सम्झौता भएको छ । शनिबार विर्तामोडमा एक समारोहमाझ भएको सम्झौतामा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादव र राजीव गान्धी क्यान्सर इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा. सुधीरकुमार रावलले हस्ताक्षर गरेका हुन् ।

दुई क्यान्सर अस्पतालले क्यान्सर उपचार प्रविधीका ज्ञान, सीप साटासाट गर्ने, राजीव गान्धी अस्पतालमा उपचारमा गएका नेपाली बिरामीको फ्लोअपका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा पठाउने, दुई अस्पतालबीच टेलिमेडिसिन प्रविधीबाट बिरामीको उपचारमा सहयोग गर्ने, पूर्वाञ्चल अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरुलाई समय—समयमा तालिम गराउने सम्झौता भएको छ ।

यस्तै, पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध हुन नसक्ने सेवाका लागि राजीव गान्धीमा रिफर गरिएका बिरामीलाई सिधै सम्बन्धित चिकित्सकबाट उपचार हुने व्यवस्था मिलाउने, पूर्वाञ्चल क्यान्सर अस्पतालबाट रिफर भएर गएका बिरामीहरुको सम्पूर्ण खर्चको १० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजीव गान्धी इन्स्टिच्युटका निर्देशक डा. रावलले पूर्वाञ्चल क्यान्सर अस्पताल नेपालमा मात्र नभएर भारतको पश्चिम बंगाल, गुहाटी, सिक्किम राज्यमा नै यति प्रविधीले सम्पन्न अस्पताल नभएको बताए । उनले नेपालमा क्यान्सर उपचारको टिम प्रविधीसहितको यति आधुनिक एकीकृत अस्पताल रहेको भन्ने कुरा आफै आएर हेरेपछि मात्र थाहा पाएको बताए ।

डा. रावलले राजीव गान्धी इन्स्टिच्युटमा क्यान्सरको उपचारका लागि आउने बिरामीमध्ये १५ प्रतिशत नेपाली बिरामी हुने गरेको समेत जानकारी दिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले अस्पताल स्थापना भएको अढाइ वर्षमा नै राजीव गान्धी इन्स्टिच्युटजस्तो संस्थासँग सहकार्य गर्न पाउनु पूर्वाञ्चल क्यान्सर अस्पतालले दिएको सेवाको विश्वसनीयता भएको बताए । राजीव गान्धी इन्स्टिच्युटसँगको सम्बन्धले पूर्वाञ्चलका कार्यरत चिकित्सक नर्सलगायत स्वास्थ्यकर्मीले थप अध्ययनका लागि बाटो खुलेको, पुर्वाञ्चलमा बिरामीले थप सेवा पाउने र राजीव गान्धीमा उपचारका लागि गएका बिरामीको फ्लोअपका लागि जाँदा लाग्ने खर्च कम हुँदा जनतालाई नै फाइदा हुने धारणा उनले व्यक्त गरे ।

डा. यादवले पूर्वाञ्चलमा हुन नसक्ने बोनम्यारो ट्रान्सप्लान्टलगायत केही सेवाको लागि राजीव गान्धी इन्स्टिच्युटमा यहीको निदानका आधारमा सिधै बिरामीले सेवा पाउने जानकारी दिए ।

वीएण्डसी मेडिकल कलेजका प्रिन्सिपल तथा रेडियोलोजी विभाग प्रमुख प्रा.डा. उमेश शर्माले २५ वर्षे युवा राजीव गान्धी र अढाइ वर्षे वालक पूर्वाञ्चलबीच भएको ऐतिहासिक सम्झौताले नेपालको क्यान्सर उपचारको क्षेत्रमा फड्को मार्ने विश्वास रहेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ