२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा देखियो आँखा पाक्ने रोगको प्रकोप

विराटनगरमा देखियो आँखा पाक्ने रोगको प्रकोप

विराटनगरको अस्पतालमा बढे आँखाका बिरामी, आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित


विराटनगर—आँखा पाक्ने रोगको प्रकोपले विराटनगरको आँखा अस्पतालहरूमा सातायता बिरामीको चाप बढेको छ । मौसम परिवर्तन र दूषित वातावरणले गर्दा आँखा पाक्ने रोगका बिरामी बढेका हुन् ।

यहाँका विराटनगर आँखा अस्पताल, दिव्यज्योती, विराट, गोल्सा, तापडियालगायतका आँखा अस्पतालहरूमा आँखा पाक्ने रोगका बिरामी बढेको अस्पतालहरुले जनाएका छन् ।

भाइरल र ब्याक्टेरियाको सम्मिश्रणले आँखा पाक्छ । यो सरुवा रोग हो । गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको दिव्यज्योती अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालले बताए । उनकाअनुसार प्रायःजसो आँखा रातो हुने समस्या लिएर अस्पताल आउने बिरामी बढेका छन् ।

‘आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखाजस्ता समस्या पाइने गरेको छ,’ उनले भने, ‘कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ । कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ । यसमा आँखाबाट आँशु बग्ने, चिप्प्रा लाग्ने, परेलीको डिल सुनिने हुन्छ । जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन् । कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ ।’

आँखा पाक्ने रोगले सबैभन्दा बढी साना विद्यार्थी प्रभावित छन् । उनीहरूको आँखा पाकेकै कारण नियमित पठनपाठनसमेत असर परेको छ । पढ्नलाई विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरूबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ । तर, यसको रोकथामका लागि कुनै उपाय अवलम्बन गरिएको छैन ।

यसबारेमा विद्यालयदेखि सरकारसम्म मौन छन् । मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतामूलक कार्यक्रम सञ्चालन गरिएको छैन । अनियन्त्रित बनेको संक्रमण फैलन नदिन सतर्कता अपनाइएको छैन ।

विद्यालयहरूमा विद्यार्थीको आँखा पाक्ने समस्या प्रकोपजस्तै देखिएको प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले बताए । ‘एउटा विद्यालयमा दैनिक १५ जनाभन्दा बढी विद्यार्थी आँखा पाक्ने समस्या लिएर आउँछन् । सामान्य समस्या हुने विद्यार्थीलाई चश्माको प्रयोग गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘आँखा पाकेर पोल्ने तथा दुख्ने समस्या भएकालाई दुई–चार दिन विद्यालय नआउन आग्रह गर्ने गरिन्छ । विद्यार्थीमा व्यापक फैलिइरहेका कारण अब कसो गर्ने भन्ने छलफल गरेर निर्णय लिन्छौं ।’

आँखाको संक्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने दिव्य ज्योती अस्पतालका निर्देशक देवा यादवले बताए । ‘परिवारमा एउटालाई समस्या हुँदा अर्कोलाई चाँडो सर्छ । विद्यालयमा समूहमा पढाइ हुने हुँदा बालबालिकामा तीव्र गतिमा फैलिइरहेको छ,’ यादवले भने, ‘सार्वजनिकस्थलमा सावधानी नअपनाउँदा झन् समस्या बढ्दो छ । संक्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्छ ।’

यसरी गर्ने उपचार

एलर्जीक कन्जन्टेभाइटिसको उपचार भनेको रोगबाट बच्ने उपायको अवलम्बन गर्नु नै प्रमुख उपाय भएको ज्योती अस्पतालका नेत्ररोग विशेष डा. अभिषेक सुवालले बताए । चिकित्सकको सल्लाह अनुसार औषधी प्रयोग गर्नुपर्ने उनले बताए ।

‘ब्याक्टेरियल संक्रमणमा भने एन्टिबायोटिकको प्रयोग गरिन्छ । आँखा चिलाउने तथा सुख्खा भएमा कृत्रिम आँशुको प्रयोग गरी शितल र ओसिलो बनाउन सकिन्छ । सामान्यतयाः चिसो पानी वा बरफले रुमाल भिजाएर आँखा सेक्नु लाभदायक हुन्छ । एलर्जीक कन्जन्टेभाइटिसबाट पीडित केटाकेटीहरुलाई बढी घाम, धुलो र धुँवाबाट जोगाउनु उपयुक्त हुन्छ,’ डा. सुवालले भने, ‘यसको लागि कालो चस्माको प्रयोग गर्न सकिन्छ । केटाकेटीहरुलाई नियमित चिसो पानीले अनुहार र आँखा धुन सिकाउनु पर्दछ ।’

एलर्जीक कन्जन्टेभाइटिसको उपचारका लागि फार्मेसीमा विभिन्न किसिमका औषधीहरु रहेपनि चिकित्सकहरुको सल्लाहमा मात्रै ती औषधीहरु प्रयोग गर्न उनले सुझाव दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ