२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिना दर्ता संचालनमा रहेको विराटनगरको मेडिक्वेष्ट प्रयोगशालामा सिलबन्दी

बिना दर्ता संचालनमा रहेको विराटनगरको मेडिक्वेष्ट प्रयोगशालामा सिलबन्दी

झापा, मोरङ र धनुषाबाट समेत स्याम्पल संकलन गरेर भारत पठाउने गरेको पाइयो


विराटनगर—विराटनगर ७ हस्पिटल चोकमा दर्ता बिना संचालित एक प्रयोगशाला सिलबन्दी गरिएको छ । बिहीबार दर्ता बिना संचालनमा आएको मेडिक्वेष्ट प्रयोगशाला विराटनगर महानगरपालिकाले सिलबन्दी गरेको हो ।

महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले गरेको अनुगमनको क्रममा दर्ता बेगर संचालन रहेको पाइएपछि मेडिक्वेष्ट ल्याब सिलबन्दी गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । ‘महानगरपालिकामा दर्ता बेगर प्रयोगशाला संचालनमा रहेको उजुरी परेको थियो । उजुरीको आधारमा अनुगमन गरेका थियौं,’ उनले भने, ‘एउटा घरको कोठा भाडामा लिएर ल्याब बिना दर्ता संचालन गरेको पाइयो । दर्ता बेगर मनलाग्दी रुपमा बिरामीको स्याम्पल झिकेर विभिन्न जाँच गरेको पाइयो ।’

दर्ता बिना संचालनमा आएको प्रयोगशालाले संकलन गरेको स्याम्पलहरु भारतको जोगबनी पठाउने गरेको पाइएको छ । ‘झापा, मोरङ र धनुषाबाट संकलन गरेको स्याम्पल विराटनगरमा ल्याएर भारत पठाउने गरेको पाएको छ,’ उनले भने ।

विभिन्न जिल्लाबाट संकलन गरेको स्याम्पलहरु भारत पठाउँदा यहाँभन्दा सस्तो बढी मुनाफा हुने भएकोले दर्ता बिनाको ल्याबमा संचालन गरेर स्याम्पल जोगबनी पठाउने गरेको पाइएको छ ।

दर्ता बिनाको प्रयोगशाला सुनिल मण्डल र पकज साहको चलाइरहेका थिए । ‘अहिले प्रयोगशाला सिलबन्दी गरी अनुसन्धान सुरू भएको छ,’ स्वास्थ्य महाशाखा प्रमुख अलीले भने, ‘थप अनुसन्धानपछि कसुरको अवस्था हेरेर कारवाही हुनेछ ।’

प्रयोगशाला संचालनको लागि विराटनगर महानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर, विराटनगरको कोशी हस्पिटल अगाडि र हस्पिटल चोकतिर च्याउसरी खुलेको क्लिनिक र प्रयोगशालाहरु नाम मात्रको रहेका छन् । यहाँ रहेका धेरै प्रयोगशालाहरु दर्ता बिना नै संचालन भइरहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ