२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नवजात शिशु बिक्री प्रकरण : डा. कर्णसहित ६ जनालाई तीन वटा मुद्दा चल्ने

नवजात शिशु बिक्री प्रकरण : डा. कर्णसहित ६ जनालाई तीन वटा मुद्दा चल्ने

घटनाको प्रमाण जुटाउँदै प्रहरी, नर्ससहित शिशु किन्ने पनि प्रहरीको नियन्त्रणमा


विराटनगर—नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका डा. तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीन वटा मुद्दा चलाउने तयारी गरेर अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका कोशी अस्पतालका पूर्व मेसु स्त्री तथा प्रसूती रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णसहित ६ जनालाई प्रहरीले तीन वटा मुद्दा चलाउने तयारी अगाडि बढाएको हो ।

पक्राउ परेका ६ जनालाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसार—पोसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

‘कुन ऐन आकर्षित हुन्छ । हामी सबै तिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण (दशी) जुटाउने काम पनि अगाडि बढाएको छौं,’ एसपी पोखरेलले भने, ‘अनुसन्धान पुरा गरेपछि सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी अदालतमा मुद्दा दायर गर्नेछौं ।’ पक्राउ परेका प्रतिवादीको कसुरअनुसारको मुद्दा दायर गर्ने तयारीको साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी पोखरेलले बताए ।

प्रहरीले यस घटनामा मंगलबार थप चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाखमा शिशु बेच्ने डा. कर्णका सहयोगी नर्सलाई प्रहरीले पक्राउ गरेको हो ।

थप पक्राउ पर्नेमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमध्ये डा. कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सुर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । डा. कर्णले ग्रीनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ । शिशु खरिद गर्ने निःसन्तान राजवंशी दम्पत्ति सुधाका नातेदार रहेको पाइएको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार जनाको हकमा बुधबार म्याद मिलान गरेर अनुसन्धान अगाडि बढाएको डिएसपी दाहालले बताए ।

कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विवाह भएको एक दशक बितिसक्दा पनि दिमायाको छोराबुहारीको सन्तान नभएकोले शिशु खरिद् गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

१३ असारमा अविवाहित महिलाले ग्रीनक्रस हस्पिटलमा छोरीलाई जन्म दिएपछि नवजात शिशुलाई एनआईसीयुमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो । डा. कर्णको योजनामा नवजात शिशु किनेपछि राजवंशी दम्पतीले विराट नर्सिङ होममा थप उपचारको लागि लगेका थिए । विराटमा उपचारको क्रममा दुई लाख रुपैयाँ खर्च भएको दिलमायाले बताएकी छिन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ