२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पाँच लाख रुपैयाँमा शिशु बिक्री प्रकरण:  ग्रीनक्रस हस्पिटलका संचालक कृष्ण खवास पक्राउ

पाँच लाख रुपैयाँमा शिशु बिक्री प्रकरण:  ग्रीनक्रस हस्पिटलका संचालक कृष्ण खवास पक्राउ


विराटनगर—विराटनगरस्थित ग्रीनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नवजात शिशु निःसन्तान दम्पत्तिलाई बिक्री गरेको घटनाको अनुसन्धानको लागि ग्रीनक्रस हस्पिटलका संचालक ५० वर्षीय खवास पक्राउ गरिएको हो ।

शिशुको बिक्री ग्रीनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटि देखिएको अनुसन्धानबाट खुलेपछि संचालक खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान पनि सुरू गरेको छ ।

‘अनुसन्धान गर्ने क्रममा हस्पिटलको पनि संस्थागत त्रुटि र व्यवस्थापकीय जिम्मेवारी देखियो । त्यसपछि पक्राउ गरिएको हो,’ डिएसपी दाहालले भने ।

यससँगै नवजात शिशु बिक्री प्रकरणमा पक्राउ पर्नेको संख्या स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णसहित ७ जना पुगेको छ । डा. कर्णले पछिल्लो समय अविवाहित जोडी भोजपुरका हतुवागढी गाउँपालिकाकी २६ वर्षीया महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रुपैयाँमा बेचेको खुलेको छ ।

उनले १४ असारमा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका—२ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट देखिएको हो । शिशु बेचेको एक महिनापछि घटना बाहिर आएपछि प्रहरीले डा. कर्णसहित ७ जनलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको छ ।

प्रहरीले डा. कर्ण र शिशुका बावु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई, नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, डा. कर्णका सहयोगी नर्सलगायतलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका—२ की ४६ वर्षीया दिलमाया राजवंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका—१२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले जानकारी दिए ।

नवजात शिशु बिक्री प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीले अन्तिम तयारी गरेको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि अभियोजन तयार गर्दछ । त्यसपछि सरकारी वकिलको कार्यालयले अभियोग दर्ता गर्नेछ ।

पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीन वटा मुद्दा चलाउने तयारी अगाडि बढाएको हो । पक्राउ परेकालाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसार—पोसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने तयारी गरेको हो ।

सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । ‘कुन ऐन आकर्षित हुन्छ । हामी सबै तिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण (दशी) जुटाउने काम पनि अगाडि बढाएको छौं,’ एसपी पोखरेलले भने, ‘अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाउँछौं । त्यसपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी अदालतमा मुद्दा दायर गर्नेछ ।’ पक्राउ परेका प्रतिवादीको कसुरअनुसारको मुद्दा दायर गर्ने तयारीको साथ अनुसन्धान प्रक्रिया अगाडि बढाएको एसपी पोखरेलले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ