२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको एउटै वडाका ३३ जना बालवालिकामा कुपोषण

विराटनगरको एउटै वडाका ३३ जना बालवालिकामा कुपोषण


विराटनगर– कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरमै बालवालिकाहरुमा कुपोषण देखिएको छ । विराटनगर महानगरपालिकाको एउटै वडामा ३३ जनामा कुपोषण देखिएको हो ।

बालस्वास्थ्य शिविरमा परीक्षण गराउन ल्याइएकामध्ये २२ जनामा कडा कुपोषण र ११ जनामा मध्यम कुपोषण देखिएको विराटनगर–१९ बैजनाथपुर अस्पतालका सिनियर अहेव भोला तिम्सिनाले जानकारी दिए । उनका अनुसार शिविर कार्यक्रममा पाँच वर्षमुनिका ४४८ जना बालबालिकाको स्वास्थ्य परीक्षण भएको थियो । जसमध्ये ३३ जनामा कुपोषण देखिएको हो ।
परीक्षणमा आएकामध्ये दुईजना बालबालिका अन्य समस्या भएको पाइएको थियो । उनीहरुको उपचारका लागि मोरङ सहकारीमा भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिकाको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गत पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य परीक्षण तथा पोषण लेखाजोखा शिविर सुरु गरिएको छ । गत शुक्रबार विराटनगर–१९ मा यो शिविर सम्पन्न भएको थियो ।

सिनियर अहेव तथा अस्पतालका प्रमुख तिम्सिनाका अनुसार शुक्रबार शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षणमा छुटेकाहरु आइतबार सम्पर्कमा आएका थिए । आइतबार २२ जना बालबालिकामध्ये चारजनामा मध्यम कुपोषण आशंका गरिएको छ ।

शिविरमा सहभागी गराइएका बालबालिकाको कुनैपनि स्वास्थ्य समस्या देखिएमा विराटनगर महानगरपालिकाले निःशुल्क उपचार गर्नेछ । शिविरमा कडा र मध्यम कुपोषण देखिएकाहरुलाई निरन्तर रुपमा घरमै पुगेर थप परीक्षण गर्ने कार्यक्रम समेत रहेको छ ।

कुपोषण देखिएका बालबालिकाका अभिभावकलाई परामर्श दिइनेदेखि बच्चाका लागि पोषण प्याकेजसमेत उपलब्ध गराइएको तिम्सिनाले जानकारी दिए । अब कडा र मध्यम कुपोषण देखिएका बालबालिकाको लागि घरमै दुध तथा अण्डाको प्रवन्ध मिलाएर दैनिक थप आहारको जोहो गर्ने कार्यक्रमसमेत रहेको छ ।

अतिविपन्न परिवारमा जन्मिएका बालबालिका धेरै कुपोषणको शिकार देखिएका हुन् । विराटनगर महानगरपालिकाले एक गैरसकारी संस्थामार्फत यो कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको छ । बालबालिकाको उमेर अनुसारको उचाई र तौल नभएको अवस्थामा उनीहरुमा कुपोषण रहेको मानिन्छ । त्यसका लागि विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर १९ नम्बर वडाबाट सुरु गरेर सबै वडामा सेवा विस्तार गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ