२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पूर्वी नेपालमा भयानक रुपले बढ्दै औषधीको दुरुपयोग

पूर्वी नेपालमा भयानक रुपले बढ्दै औषधीको दुरुपयोग

कोशीमा मात्र १६ महिनामा ६३ वटा मुद्दा दायर


विराटनगर- मोरङको सुन्दरहैचा नगरपालिका–१२ विराट चोकमा रहेको एरीका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधीको दुरुपयोग गरेको आरोपमा केही महिना अगाडी पक्राउ परे । औषधी व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा खत्रीले बिरामीले सेवन गर्ने औषधी दुरुपयोग गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी उनलाई नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका खत्रीले ट्रामाडोल नामक औषधी दुरुपयोग गरी लागू औषध प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको पाइएपछि मेडिकल हल सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको डिडिएको अभिलेखमा देखिन्छ ।

यसअघि पनि विभागले धरान उपमहानगरपालिका–१८ घोपा क्याप अगाडीको बिम्ब फार्मेसीका सञ्चालक नवीन राईले औषधीको दुरुपयोग गरी लागू औषध प्रयोगकर्तालाई बिक्री वितरण गरेको आरोपमा विभागले पक्राउ गरेको थियो ।

धरान ११ सयपत्री चौकस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरानका २३ वर्षीय मुकेश कार्कीलाई पक्राउ गरेपछि फार्मेसी सञ्चालक राईले औषधीको अनुचित रुपमा दुरुपयोग गर्ने गरेको खुलेको थियो । त्यही भएर विभागको टोलीले उनलाई पक्राउ गर्‍यो ।

यसैगरी मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेबाट औषधीको अनुचित प्रयोग गरेको पाइएपछि रविन पुरी, रक्की धिमाल, सुमित राई र उज्वल थापा पक्राउ परे । उनीहरूलाई औषधी अनुचित प्रयोग गराउन लगाउने मुख्य नाइके फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको छ । यसअघि इटहरी १ बाट पनि औषधीको दुरुपयोग गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर औषधी व्यवस्था विभागले मुद्दा चलायो ।

बिरामीलाई अति आवश्यक पर्ने औषधीको दुरुपयोग गरेको उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । कोशी प्रदेशको तराइका जिल्लाहरूमा औषधीको अनुचित प्रयोग गर्दै यसको दुरुपयोग भयावह बन्दै गएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए । औषधीको अनुचित प्रयोग गरेर कमाउ धन्दामा लागेका गिरोहले यसको चरम दुरुपयोग गर्ने गरेको पाइएको हो ।

औषधीको चरम दुरुपयोग गर्दै लागु औषध बनाएर कोशी प्रदेशको विशेष गरी पूर्वी सहरमा बिक्री वितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको हो । बिरामीले सेवन गर्ने औषधीको दुरुपयोग गरेर लागू औषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह सबैभन्दा बढी सुनसरीमा रहेका छन् । सुनसरीपछि मोरङ, झापा र उदयपुरमा अधिक छन् । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधीलाई मिश्रण गरेर लागू औषध बनाएर युवापुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधी बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गरिनुपर्ने औषधी रहेको विभागले जनाएको छ । तर, यहाँ यी औषधीको चरम दुरुपयोग बढेको उनले सुनाए । प्रत्येक वर्ष औषधीको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको सङ्ख्या बढेको कारणले अदालतमा मुद्दा सङ्ख्या पनि बढ्दो रहेको डिडिएको अभिलेखमा देखिन्छ ।

आर्थिक वर्ष २०७९/०८० मा औषधीको दुरुपयोग गर्ने विरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । यो सङ्ख्या प्रत्येक वर्ष बढ्दो रहेको छ । चालु आर्थिक वर्षको कार्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएका छन् ।

डिडिए विराटनगरले अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा औषधीको अनुचित प्रयोग गरेको १७ वटा मुद्दा अदालतमा दर्ता गरेको देखिन्छ । १७ वटा मुद्दामा ३८ जनालाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको थियो । औषधी ऐन, २०३५ अनुसार औषधीको अनुचित प्रयोग गरेर बिक्री वितरण गर्नेलाई पाँच वर्षसम्म कैद सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ । जुन जिल्लाबाट औषधीको अनुचित प्रयोग गरेको आरोपमा प्रतिवादी पक्राउ गर्‍यो त्यही जिल्लाको सम्बन्धित अदालतमा अभियोग लैजानुपर्ने हुन्छ । जसले गर्दा कम जनशक्ति भएको डिडिएमा काम गर्न कठिनाइ हुने गरेको कर्मचारी बताउँछन् ।

विभागले गरेको अनुसन्धानबाट डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागू औषध बनाएर बिक्री गर्ने गरेको खुलेको थियो । क्यान्सरको समस्या भएकालाई दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोलले अरु औषधीसँग मिसाएर सेवन गर्दा लागु औषधको काम गर्ने गरेको चिकित्सकले बताएका छन् । त्यही भएर अवैध रुपमा भित्रिने यसको कारोबार पछिल्लो समय फस्टाएर गइरहेको छ । ‘प्रतिबन्धित औषधीहरू भारतदेखि भित्र्याएपछि पूर्वी सरहमा भण्डारण गरी लागू औषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ,’ कार्यालय प्रमुख मिश्रले भने, ‘अवैध रूपमा ल्याएको औषधीको चरम दुरुपयोग गर्दै गिरोहले दुर्व्यसनीमा लागेका युवाहरूलाई महँगो मूल्यमा बिक्री वितरण गर्ने गरेको पाइएको छ । उनीहरूले डाइसाइक्लो माइन, ट्रामाडोल र प्रिगावालिन मिसाएर लागू औषध बनाएर बिक्री गरेको पाइयो ।’ यसरी औषधीलाई लागू औषध बनाएर बिक्री वितरणमा गर्नेमा औषधी पसल सञ्चालन गर्ने सञ्चालकहरू पनि रहेका छन् । ट्रामाडोल र स्पासपेन मिलाएर लागू औषध बनाएर ५ देखि ७ सय रुपैयाँसम्म बिक्री वितरण गर्ने गरेको छन् । औषधीलाई लागू औषध बनाएर धरान, इटहरीसहित पूर्वी सहर मोरङको केराबारी, बेलवारी, उर्लाबारी, मधुमल्ला, पथरी, बेलबारीलगायतको सहरमा बिक्री वितरण गर्दै आएका छन् ।

पक्राउ परेका प्रतिवादीहरूले २० देखि ३० हजार रुपैयाँको प्रतिबन्धित औषधी भारतमा खरिद गरेर पूर्वी सहरहरूमा ल्याएर उक्त औषधी लागू औषध बनाएर ८ देखि १० लाख रुपैयाँसम्म बिक्री गरेको बयानको क्रममा स्वीकार गरेका छन् । ‘औषधीलाई लागू औषध बनाएर पूर्वी सहरमा पुर्‍याउन सिटी रिक्सा र चालकहरू प्रयोग गर्ने गरेको पाइएको छ । चालक प्रयोग गर्दा प्रहरी र नियामक निकायको ध्यान नजाने भएकोले औषधीको दुरुपयोग गर्ने गिरोहले निक्कै चलाखी गरेको पाइएको छ,’ अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

यसरी औषधीको दुरुपयोग गर्दै लागू औषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण कमाउधन्दामा लागेका केही फार्मेसी सञ्चालकहरूले पनि बिक्री वितरण गर्ने गरेका थिए । केही फार्मेसी सञ्चालकहरूले औषधीको अनुचित प्रयोग गरी लागू औषध दुर्व्यसनीहरूलाई बेच्ने गरेको विभागले जनाएको छ । यस्तो बदमासी सुनसरी, उदयपुर, झापा र मोरङमा अधिक हुने गरेको पाइएको छ । ‘पूर्वी सहरमा औषधीको दुरुपयोगको अवस्था भयावह रहेको छ । प्राप्त जनशक्ति नभएको कारणले डिडिए एक्लैबाट मात्र यसको नियन्त्रण सम्भव छैन । यसलाई सामाजिक इसु बनाएर सबै क्षेत्रको निकाय रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘प्रहरीको संयन्त्र हरेक स्थानीय तहसम्म र बोर्डरसम्म पुगेकाले प्रहरीको थप भूमिका दिनुपर्ने अवस्था रहेको छ ।’

ओभरडोजले ज्यान जाने खतरा

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधको रुपमा सेवन गर्दा शरीर र मानसिक रुपमा असर गरी स्मरणशक्तिमा ह्रास आउनुको साथै ओभर डोजले ज्यान जान सक्ने खतरा हुने डा. रोशन खड्काले बताए । ‘यसको अधिक मात्रमा प्रयोगले मानसिक समस्या मात्र गर्दैन । ओभर डोजले ज्यान जान सक्नेसम्म खतरा हुने गर्दछ,’ डा. खड्काले भने, ‘श्वास  प्रश्वासमा समस्या भएर पेटमा पनि थुप्रै समस्या हुने गर्दछ ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ