२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरण अभाव

कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरण अभाव


विराटनगर—पूर्वी नेपालकै सबैभन्दा ठूलो संघीय अस्पतालका रुपमा रहेको कोशी अस्पतालले न्यूरो सर्जरीको जनशक्ति र उपकरणको अभाव झेलिरहेको छ । न्यूरो सर्जरी सेवा सुरु भएको एक वर्षभन्दा बढी भइसक्दा पनि जनशक्ति र उपकरण पर्याप्त नभएको चिकित्सकले बताएका छन् ।

दक्ष जनशक्ति नहुँदा उपचारमा कठिनाइ भएको छ । कोशीमा न्यूरो सर्जन एक जनाको दरबन्दी छ । उक्त दरबन्दी पदपूर्ति भएको छ । न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत नहुँदा समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

‘न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यकता छ । त्यससँगै थप उपकरणहरुको पनि आवश्यकता रहेको छ,’ न्यूरो सर्जन डा. चन्द्रप्रकाश यादवले भने, ‘तत्काल पोस्टअप र माइक्रोस्कोपीक उपकरण भए न्युरो सर्जरीका ठूला–ठूला शल्यक्रिया गर्न सकिने थियो ।’ थप जनशक्ति र पर्याप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रियादेखि मेरुदण्डसम्मको उपचार गर्न सकिने उनले बताए ।

न्युरो सर्जरी आईसीयूको पनि आवश्यक रहेको उनले बताए । ‘यो जरुरी छ । अप्रेसन गर्नुमात्र ठूलो कुरा होइन् । त्यसपछि हुनुपर्ने केयर मुख्य विषय हो,’ उनले थपे, ‘त्यसैले जनशक्तिको आवश्यकता छ ।’ कोशीको ओपीडीमा हप्ताको तीन दिन न्यूरो सर्जरीको सेवाहरु हुने गरेको छ । सोमबार, बुधबार र बिहीबार ओपीडीमा चिकित्सक डा. यादव बस्ने गरेका छन् भने शल्यक्रिया हप्ताको दुई दिन हुने गरेको छ । शल्यक्रिया आइतबार र मंगलबार हुने गरेको अस्पतालले जनाएको छ ।

कोशी अस्पतालका मेसु डा. चन्द्रभाल झाले २० वर्ष अगाडिको दरबन्दीअनुसार अहिले काम भइरहेको बताए । ‘त्यो बेला बिरामीको चाप एकदमै कम थियो । त्यसबेलामा ओपीडीमा ५ देखि ६ सय बिरामी हुने गरेका थिए । अहिले दैनिक ओपीडीमा १५ सय देखि २ हजारसम्म बिरामी आउने गरेका छन्,’ उनले भने, ‘पूरानो दरबन्दीअनुसार स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् । अहिले ओएनएम सर्वे भएको छ । यो सदर भएर आएपछि जनशक्ति थप हुनेछ । यसको लागि हामीले पहल गरिरहेका छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ