२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १औषधिमा ठगी प्रकरणः बिरामी ठग्ने संचालक पक्राउ परेनन्

औषधिमा ठगी प्रकरणः बिरामी ठग्ने संचालक पक्राउ परेनन्


विराटनगर—परिणाम बढाएर बिरामीलाई ठगी गर्ने विराटनगर – ९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का संचालकद्वय सिरहा गोलबजारका निराजन शाक्य र सप्तरीका चन्द्रशेखर यादवलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्धा दायरको तयारी गरेको छ ।

औषधि बिक्री गर्ने कामदारलाई मात्र पक्राउ गरेको मोरङ प्रहरीले बिरामीले लागेको औषधिको परिणाम बढाउन निर्देशन दिने संचालकलाई पक्राउ गर्न नसक्दा सरकारी वकिलको कार्यालयमार्फत फरार प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा ठगीमा मुद्धा दायर गर्ने तयारी सुरु गरेको हो । प्रहरीले अभियोगको फाइल सरकारी वकिलको कार्यालयमा पु¥याएको अब चाँडै मुद्धा दायर हुनेछ ।

औषधिको परिणाम बढाएर बिक्री वितरण गरेको आरोपमा साक्षी मेडिकल हलमा काम गर्ने सुनसरीको इनरुवा नगरपालिकाका १९ वर्षीय सन्तोष मेहतालाई प्रहरीले पक्राउ गरेको २४ दिन बितिसक्दा पनि कामदारलाई औषधिको परिणाम बढाएर विक्री वितरण गर्न निर्देशन दिने संचालकद्वय शाक्य र यादवलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

फार्मेसीमा औषधि खरिद गर्न आएका बिरामीलाई परिणाम बढाएर औषधीको विक्री वितरण गर्ने आरोप लागेको संचालक शाक्यको सिराहको गोलबजारस्थित १२ शैय्याको भूमिजा हस्पिटल रहेको छ । शाक्य र यादवको सहकार्यमा विराटनगरमा पनि औषधि पसल खोलेका थिए । उनीहरूकै निर्देशनमा पसलमा आएका बिरामीले खरिद गरेको औषधि परिणाम बढाएर विक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सवारी दुर्घटनमा परी न्यूरो हस्पिटलमा भर्ना भएका उदयपुरको त्रियुगा नगरपालिका नवराज राईका आफन्तले २ लाखको औषधि खरिद गर्दा करिब ६० हजार मुल्य बरावरको औषधिको परिणाम बढी देखाएर ठगी गरेको खुलेको छ । ती बिरामीले साक्षी मेडिकलबाट ७१ प्रकारको औषधि खरिद गरेका थिए ।

बिरामीले खरिद गरेको औषधिभन्दा बढी परिणाम देखाएर ठगी गरेको आरोपमा प्रहरीले गत २६ असोजमा मेडिकल हलमा काम गर्ने मेहतालाई पक्राउ गरेको थियो । औषधि खरिद गर्न आएका बिरामीलाई लगेकोभन्दा बढी परिणाम देखाउन संचालकद्वयले निर्देशन दिने गरेको खुलिसक्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ्रैन् । औषधि विक्री गर्ने कामदारलाई पक्राउ गरेको तीन साता वितसक्दा पनि परिणाम बढाएर विक्री गर्न निर्देशन दिने संचालकलाई प्रहरीले पक्राउ नगर्दा उनीहरू गोलबजारस्थित आफनै अस्पतलामा खुलेआम हिडडुल गर्दै आएका छन् ।

प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट साक्षी मेडिकल हलले बिरामीलाई दिएको ७१ प्रकारको औषधि मध्ये पाँच प्रकारको औषधि विभागमा दर्ता नभएको विक्री वितरण हुने गरेको खुलेको छ । औषधि व्यवस्था विभागले प्रहरीलाई दिएको रायमा पाँच प्रकारको औषधि विभागमा दर्ता नभएको औषधि थियो । यस विषयमा पनि प्रहरीले अनुसन्धान गर्दै आएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । यता मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले औषधिका संचालकद्वयलाई पक्राउ गर्न विशेष प्रहरी परिचालन गरेको बताए ।

‘हामीले पक्राउ गर्न विशेष प्रहरी परिचलान गर्दै आएका छौं । तर, अहिलेसम्म भेटिएको छैन,’ उनले भने । खोजी कार्यलाई हामीले तीव्र बनाएको उनले सुनाए । उनीहरूलाई पक्राउ गर्न मोरङ प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा पनि पत्रचार गरेको लामो समय भएको छ । तर त्यहाँका प्रहरीले उनीहरूलाई पक्राउ गर्न चासो नदेखाएको बुझिएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ