२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङ प्रहरीद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच

मोरङ प्रहरीद्वारा विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर, २३० जनाले गराए स्वास्थ्य जाँच


विराटनगर—जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बुधबार विराटनगगर—१२ बखरीस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २३० जनाले स्वास्थ्य जाँच गरेका छन् ।

विराट मेडिकल कलेजको प्राविधि सहयोग भएको स्वास्थ्य शिविरमा विशेषज्ञ सेवाहरु रहेको थियो । स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जीवनाथ धमला, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शिवभूषण पन्डित, छाला रोग विशेषज्ञ डा. सरविन यामु श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मनोजकुमार चौधरीलगायतका चिकित्सकहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य जाँच गरिएका बिरामीहरुलाई शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

सुरक्षा र अपराध नियन्त्रणको अतिरिक्त प्रहरीले नागरिकको सुव्यवस्था र हित प्रवर्धन गर्न समुदाय–प्रहरी साझेदारीको माध्यमबाट सामाजिक कल्याणकारी कार्यक्रमहरु पनि गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेले बताए । प्रहरीले विगत लामो समयदेखि समुदाय संगको सम्बन्धलाई बहु—आयामिक बनाउन यस्तो सामाजिक काम अपरिहार्य रहेको उनले बताए । प्रहरीले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, नागरिक सुनुवाई, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आदिजस्ता हितकारी कार्यहरु गर्दै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रहरीले शान्ति सुरक्षा कायम मात्र नगरेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी सामाजिक कल्याणकारी काम गरेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, विराटनगर१२ का वडाअध्यक्ष हिरालाल यादवलगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ