२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १फर्मासिस्टलाई समयमै पारिश्रमिक दिन एनपीएको माग, नदिए कानुनी उपचार जाने

फर्मासिस्टलाई समयमै पारिश्रमिक दिन एनपीएको माग, नदिए कानुनी उपचार जाने


विराटनगर— नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए)ले फार्मेसी सम्बन्धी रोजगार प्रदायक संस्थाहरुलाई श्रम ऐनअनुसार फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूको पारिश्रमिक दिन माग गरेको छ । बिहीबार एनपीएले एक विज्ञप्ती जारी गर्दै फर्मासिष्टहरुले पाउनुपर्ने पारिश्रमिक र सेवा सुविधाहरु तत्काल नदिएमा कानुनी कारवाहीको प्रक्रिया जानुको साथै कडा कदम चाल्ने चेतावनी दिएको हो ।

फार्मेसी कलेज, औषधी उद्योग तथा फार्मेसीहरूमा कार्यरत फर्मासिस्ट तथा सहायक फर्मासिस्टहरूको पारिश्रमिक समयमा नदिने, पाउनुपर्ने सेवा सुविधा नदिने, सेवा अवधि समाप्त भएको धेरै समयसम्म पनि बाँकी रकम भुक्तानी नगर्ने, हुँदाहुँदै परिषद् नाम दर्ता प्रमाणपत्रसमेत फुकुवा नगर्ने गरेको गुनासो आइरहेको छ ।

फार्मेसी सम्बन्धि रोजगार प्रदायक संस्थाहरुलाई श्रम तथा पेशागत मान्यतालाई पालना गर्न गराउन हुन र श्रमको उचित सम्मान गरी मान्यताअनुरुप सेवा सुविधा दिन एनपीएले अपिल गरेको छ । ‘हाम्रो बारम्बारको यस प्रकारको अपिललाई बेवास्ता गरी सम्बन्धित संस्थाहरुले श्रम शोषण गरिरहेमा एसोसिएसनले यस्ता अमर्यादित, अनैतिक र गैरकानुनी कार्यका विरुद्ध कडा कारबाही चलाउन बाध्य हुने व्यहोरा सूचित गर्दछौं,’ एनपीएका अध्यक्ष ललित मोहन पन्त र महासचिव संजीव शर्मा कट्टेलले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।

अहिलेसम्म दुई सय बढी फर्मासिस्टहरुले एसोसिएसनमा लिखित उजुरी दिएको महासचिव शर्माले जानकारी दिए । अहिलेसम्म चार वटा रोजगार प्रदायक संस्थामा गएर फर्मासिस्टहरुको समस्या एनपीएले राखेको थियो । त्यसमध्ये तीन वटाले फर्मासिस्टहरुको माग सुनवाई गरेको महासचिव शर्माले जानकारी दिए । ‘फर्मासिस्ट यो देशको लागि दक्ष जनशक्ति हो । यसरी श्रम अनुसारको पारिश्रमिक नपाएको र योग्यताको कदर नहुँदा नेपालको जनशक्ति विदेशिनुको एउटा मुख्य कारण श्रम शोषण पनि हो,’ उनले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ