२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलमा बालबालिकाको कार्डियोलोजी सेवा सुरु, ५ वर्षीय बालकको शल्यक्रिया नगरी उपचार

नोबेलमा बालबालिकाको कार्डियोलोजी सेवा सुरु, ५ वर्षीय बालकको शल्यक्रिया नगरी उपचार


विराटनगर—विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुका लागि कार्डियोलोजी सेवा सुरु गरेको छ । १० जना चिकित्सकसहितको कार्डियोलोजी विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादवको नेतृत्वमा कार्डियोलोजी सेवा सुरु भएको हो ।

केही दिन अगाडि कमल गाँउपालिका ५, झापाका ५ वर्षीय आहान माझीको जन्मजात मुटुको समस्या बिना शल्यक्रिया उपचार गरिएको छ । जाँचको क्रममा मुटुमा पनि समस्या देखिएपछि झापाकै एउटा अस्पतालबाट उनलाई नोबेल पठाइएको थियो । नोबेलमा जाँचको क्रममा उनको मुटुको महाधमनी र फोक्सोतिर जाने नसा जोडिएको देखिएको थियो । डा. यादव नेतृत्वको चिकित्सा टोलीले उनको बिना शल्यक्रिया नसाबाट छाता जस्तो सामाग्री पठाएर उक्त नसा टालेको थियो ।

डा. प्रतिमाका अनुसार यो एक जन्मजात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सोतिर गएको रगतको नसाबीच एउटा रगतको नसा जोडिएको हुन्छ । यो नशा शिशु आमाको पेटमा रहँदा नभई नहुने नसा हो तर शिशुको जन्म भएको ७२ देखि ९० घण्टाभित्र त्यो नसा आफै बन्द हुने गर्दछ । त्यो समयसम्म पनि बन्द नभएको खण्डमा १ देखि ३ महिनासम्म लाग्न सक्छ । तर, त्यो समयसम्म पनि नसा बन्द नभएमा त्यसले शिशुमा रुघा लागि रहने, निमोनिया हुने, स्तनपान गर्न नसक्ने, श्वासप्रश्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकूद गर्दा अन्य स्वस्थ बालबच्चाभन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेरअनुसारको तौल नबढ्ने लक्षणहरु देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्तप्रवाहमा दवाव बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।

डा. प्रतिमाकाअनुसार यो समस्याको दुई प्रकारको उपचार हुन्छ । एउटा शल्यक्रिया र अर्को बिना शल्यक्रिया गरिने डिभाइस क्लोजर । शल्यक्रिया गर्दा जोखिम बढी हुने, अस्पताल बसाइँ धेरै लाग्ने, शरीरमा शल्यक्रियाको खत बस्ने हुन्छ भने नशाबाट छाता जस्तो सामाग्री पठाइ नसा टाल्ने प्रविधि पीडीए डिभाइस क्लोजर भरपर्दो र कम खर्चिलो हुन्छ । जसमा बिरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नसाबाट क्याथेटरको सहायताले छाता जस्तो सामाग्री पठाएर नसा टाल्ने गरिन्छ । यसरी टालिएपछि मुटुको चार वटा कोठाहरु आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा हुन थाल्छ । यो प्रविधिबाट मुटुको धमनीको नसा टालेको भोलिपल्ट बिरामीलाई डिस्चार्ज गर्न मिल्ने भएकोले बिरामी र बिरामीको कुरुवालाई सहज हुन्छ । यो प्रविधी अहिलेसम्म काठमाडौंमा मात्र रहेको र उपत्यका बाहिर पूर्वी नेपालमा नोबल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा रहेको डा. प्रतिमाले जानकारी दिइन् ।

कार्डियोलोजी विभागमा उपलव्ध उपकरणहरु र अनुभवी जनशक्तिको कारण आकस्मिक सेवा, दैनिक ओपीडी र भर्ना गरी उपचार गर्ने बिरामीको संख्या उल्लेख्य मात्रामा हुने गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ